जागरण सभाले एमाले कानुनी राज्य र विधिको शासनको पक्षमा रहेको र यसले अराजकता र अस्थिरतालाई नस्विकार्ने सन्देश दिएको छ
नेकपा एमाले सुशासन, विकास र समृद्धिलाई कार्यान्वयन गर्न अग्रणी र नेतृत्वदायी भूमिका खेलिरहेको राजनीतिक दल हो । यसका निम्ति मुलुकमा राजनीतिक स्थिरता अपरिहार्य छ । तर, अहिले मुलुक अस्थिरता र अराजकताबाट आक्रान्त बनेको छ । खासगरी समाजका सांस्कृतिक मूल्यहरू अवमूल्यन भइरहेका छन् । वर्षौंदेखिको सामाजिक सद्भाव, एकता र मेलमिलापलाई खण्डित गर्ने प्रयास भइरहेको छ । आर्थिक रूपमा मुलुकले चाहेको उपलब्धि हासिल गर्न सकेको छैन । अघिल्लो वर्षको तुलनामा समग्र अर्थतन्त्रका थुप्रै सूचकमा सुधार आइरहेको छ । आयात–निर्यातको व्यापार सन्तुलन कायम गरी लगानीको वातावरण सिर्जना गर्न अहिलेको सरकारले प्रयास गरिरहेकै छ । तर, केही सकारात्मक बिन्दु पहिल्याउन सकिए पनि र केही सकारात्मक संकेतसहितका परिणाम देखिए पनि अपेक्षित उपलब्धि भने हुन सकेको छैन । जनताको विकास र सुशासनको अपेक्षा र सरकारको सामाथ्र्यबिच फराकिलो खाडल छ । त्यसैले अहिलेको सरकारले गतिका साथ काम गरेर जनआकांक्षा पूरा गर्ने दिशामा मुलुकलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ ।
यी सबै पृष्ठभूमिमा नेकपा एमालेले मुलुकमा अस्थिरता र अराजकता नियन्त्रण गर्दै त्यसविरुद्ध एउटा सशक्त जनमत निर्माण गर्ने उद्देश्यसहित राष्ट्रिय स्वाधीनताको रक्षा, सामाजिक सद्भावका लागि जागरण पैदा गर्दै अगाडि बढ्न खोजिरहेको छ । विगतमा हामीले मिसन ग्रासरुट र चिवाभञ्ज्याङ–झुलाघाट अभियान पनि राष्ट्रिय जागरणकै कार्यक्रमका रूपमा सञ्चालन गर्यौँ । त्यसैको पछिल्लो कडीका रूपमा हामीले यही ७ मंसिरमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीलाई आयोजक बनाएर काठमाडौंको दरबारमार्गमा एउटा ठुलो जागरण सभा सम्पन्न गर्यौँ । यो जागरण सभाको मूल सन्देश भनेको एमाले सधैँ कानुनी राज्य र विधिको शासनको पक्षमा छ र यसले कुनै पनि मानेमा अराजकता र अस्थिरतालाई स्विकार्दैन भन्ने हो । जतिवेलासम्म मुलकुमा अस्थिरता र अराजकता कायम रहन्छ, त्यतिवेलासम्म मुलुकले चाहेको सुशासन, विकास र समृद्धिको जनआकांक्षा पूरा हुन सक्दैन र सरकारले पनि अपेक्षित रूपमा काम गर्न सक्दैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ । त्यसकारण सुशासन र विकासको जनआकांक्षालाई पूरा गर्ने दिशातर्फ अगाडि बढ्ने बाधक प्रवृत्तिका रूपमा खडा भएको अराजकता र अस्थिरतालाई निषेध गर्न व्यापक जनमत निर्माण गर्नुपर्ने विद्यमान परिस्थिति छ । यिनै परिस्थितिलाई मध्यनजर गरी राष्ट्रिय जागरणका लागि जनमत सिर्जना गर्नकै लागि हामीले जागरण सभा आयोजना गर्यौँ । यो सभाले मूलतः सामाजिक सञ्जाल र फेक आइडीको दुरुपयोग गरेर गलत सूचनामार्फत जनतामा भ्रम सिर्जना गर्ने र समाजमा अराजकता खडा गरेर लोकतन्त्र र विधिको शासनमाथि भइरहेको षड्यन्त्रविरुद्ध जनतालाई जागरुक गर्न महत्वपूर्ण योगदान पुर्याएको हामीले विश्वास गरेका छौँ । जागरण सभाबाटै हामीले एमाले नेतृत्व र सरकारमाथि लगाइएका आरोप र कतिपय भ्रम चिरिने गरी जनतालाई स्पष्ट पारेका छौँ ।
हामी मुलुकको अर्थतन्त्रलाई एउटा लयमा फर्काएर आर्थिक वर्षको लक्ष्यअनुरूप अपेक्षित राजस्व वृद्धि गर्ने र मुलुककलाई सुशासन र विकासका निम्ति एउटा स्थायी सरकारको आवश्यकता पूर्ति गर्दै अगाडि बढ्न खोजिरहेका छौँ । स्थिरताको आवश्यकता परिपूर्तिकै लागि हामीले कांग्रेससँग सातबुँदे सहमति गर्यौँ । केन्द्र र प्रदेश दुवैमा आलोपालो सहमतीय सरकारको नेतृत्व त्यही उद्देश्यका लागि गरिएकाले ०८४ सम्म देशमा स्थिर सरकार सुनिश्चित भएको सन्देश दिएका छौँ । वर्षैपिच्छे सरकार परिवर्तन हुँदा विकास निर्माणमा भइरहेको अवरोधलाई यो सहमतिले चिरेको छ भन्ने सन्देशलाई सबैतिर पुर्याउनुपर्ने आवश्यकताबोधसहित कांग्रेस–एमालेपंक्ति अगाडि बढ्नुपर्छ । सातबुँदे सहमतिअनुसार यसबिच संविधान संशोधनको प्रश्नलाई पनि सम्बोधन गर्ने र संशोधनका एजेन्डामा सहमति खोज्ने, समग्रमा संविधानको दशवर्षे कार्यान्वयनको समीक्षा गर्दै पुनरावलोकन गर्ने र राष्ट्रिय सहमतिका साथ संविधान संशोधनको एजेन्डालाई अघि बढाएर कार्यान्वयन गर्ने पक्षमा एमाले दृढतापूर्वक उभिएको छ । त्यस्तै, जनताले अपेक्षा गरेको सामाजिक–आर्थिक रूपान्तरण, परिवर्तन र विकासको ‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न नेकपा एमालेलाई नै सुदृढ, एकताबद्ध र निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने गरी हामीले पार्टीको समग्र नेतृत्वलाई जिल्ला, गाउँ र वडाकेन्द्रित शक्ति विन्यास गरेर पार्टी निर्माणको कार्ययोजनालाई प्रमुख प्राथमिकता दिँदै अगाडि बढिरहेका छौँ । अनुभवले भन्छ– भिडले मात्र रूपान्तरण सम्भव छैन । यो तथ्यलाई गहिराइका साथ आत्मबोध गरेर पार्टी स्कुलका माध्यमबाट तलैसम्मका पार्टीपंक्तिलाई वैचारिक रूपमा प्रशिक्षित गरी मूलभूत प्रश्नको जवाफ दिन सक्ने सुस्पष्ट कार्यकर्ताको जमात तयार गर्ने र त्यही विचारको जगमा सुदृढ, एकताबद्ध र जुझारु संगठन निर्माण गर्ने, त्यही शक्तिको बलमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी हामीले समग्र पार्टी कामको केन्द्रबिन्दु बनाएका छौँ ।
आजको शक्ति सन्तुलनमा पहिलो र दोस्रो दल कांग्रेस र एमालेजस्ता दुई ठुला राजनीतिक दल मिलेर एकसाथ सत्तामा जानु संसदीय प्रणालीका हिसाबले बेठिक भयो भन्दै विभिन्न कोणबाट टीकाटिप्पणी पनि भइरहेका छन् । मुलुक सही र स्वाभाविक दिशामा अगाडि बढिरहेको हुन्थ्यो भने यी प्रश्न स्वाभाविक पनि हुन्थे । तर, अहिलेको परिस्थिति भिन्न छ भन्ने तथ्यलाई हामीले जनतालाई प्रस्टसँग बुझाउनुपर्ने अवस्था छ । नेकपा एमाले र नेपाली कांग्रेस अहिले सत्ता सहकार्यका निम्ति सहमतिको प्रक्रियाबाट अगाडि बढिरहेका छन् । तर, यसको अर्थ यो होइन कि कांग्रेस र एमालेले आपसी प्रतिस्पर्धी र प्रतिद्वन्द्वी दल हुन् भन्ने कुरालाई पनि हेक्का राखेका छैनन् । १६ मंसिरको स्थानीय तहको उपनिर्वाचन आ–आफ्नै ढंगले नीति र कार्यक्रमका आधारमा प्रतिस्पर्धा गर्ने गरी अगाडि बढिरहेका पनि छौँ । त्यसैले पनि नेपाली कांग्रेस एमालेबिचको सत्ता समीकरणलाई आठौँ आश्चर्यका रूपमा नबुभ्mन हामी आग्रह गर्छौं । यो राष्ट्रिय आवश्यकताअनुसार उत्पन्न भएको सहकार्य हो । शान्ति प्रक्रिया पूरा गर्न, लोकतन्त्रको आन्दोलन अगाडि बढाउन, संविधान निर्माण गर्न, उपलब्धिलाई संस्थागत गर्नका लागि यिनै दुई ठुला दलले पटक–पटक सहकार्य गरेका कारण अहिलेको सहकार्य नेपाली माटोको मौलिक खालको राजनीतिक संस्कृति हो भन्ने अर्थमा बुझ्न जरुरी छ । त्यसकारण प्रमुख प्रतिपक्ष र पहिलो ठुलो दलबिच देशलाई संकटबाट जोगाउन निश्चित उद्देश्यसहित भइरहेको सत्ता समीकरण आठौँ आश्चर्य हुँदै होइन । यसलाई हामीले संसदीय राजनीतिको इतिहासमा नौलो र अन्तिम प्रयोगका रूपमा मात्रै बुझ्न हुँदैन । त्यसैले, अहिले हामी आपसी प्रतिस्पर्धी दल पनि हौँ भन्ने पक्षलाई पनि ख्यालमा राखेर अगाडि बढिरहेका छौँ ।
अहिले हाम्रो मुख्य ध्यान यो सरकारलाई जनप्रिय र जनमैत्री बनाउने दिशामा केन्द्रित छ । सुशासनमुखी, विकासमुखी, जनतामुखी परिवर्तनकारी काम गरेर शक्ति सञ्चय गर्दै सरकारको कामलाई सहयोग पुर्याउने, राम्रा कामलाई जनतामा स्थापित गर्ने गरी पार्टीपंक्ति परिचालित हुनुपर्छ ।
अहिले नेकपा एमालेका कार्यभार पनि प्रस्ट छन् । पहिलो र मुख्य र निर्णायक कार्यभार भनेको नेकपा एमाले पार्टीलाई वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा सुदृढ, एकताबद्ध र जुझारु पार्टीका रूपमा विकसित गर्दै मुलुकको बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्नु हो । यसका निम्ति हामीले मुख्यतः दुईओटा काम गर्नेछौँ । पहिलो, पार्टीलाई माथिल्लो एकाइदेखि तल्लो ग्रासरुटसम्म व्यापक पुनर्गठनको प्रक्रियाबाट अगाडि बढाउँछौँ । दोस्रो, पुनर्गठित पार्टीलाई वैचारिक र राजनीतिक हिसाबले सुस्पष्ट दिशाबोध गर्ने गरी पार्टी निर्माणको एजेन्डालाई पनि अगाडि बढाउँछौँ । यति मात्र होइन, यही मुख्य कार्यभार पूरा गर्नका लागि पार्टीमा शुद्धीकरण र सुदृढीकरणको अभियानलाई निरन्तरता दिनेछौँ । साथै, कुनै पनि किसिमको आक्षेप, नैतिकहीन, आवेग, लोकतन्त्रविरोधी आक्षेपबाट मुक्त गर्दै एउटा अनुशासित पार्टी निर्माण गर्ने गरी अगाडि बढ्नका निम्ति सबैतिर व्यापक शुद्धीकरणको अभियान पनि अगाडि बढाइरहेका छौँ । जुनसुकै मुद्दा या जतिसुकै ठुला नेता किन नहुन्, मुद्दा प्रमाणित हुन्छ, गल्ती पुष्टि हुन्छ भने निजले सफाइ नपाएसम्म पार्टीबाट निलम्बन या निष्कासन गर्ने र पार्टीलाई जनताको पार्टी, अनुशासित पार्टी, विधिसम्मत पार्टीका रूपमा स्थापित गराउने गरी काम गरिरहेका छौँ । यसैको आधारमा आगामी आमनिर्वाचनमा वडादेखि पालिका, जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म स्पष्ट बहुमत ल्याउने गरी पार्टी निर्माणको काम अगाडि बढाउँछौँ । त्यसै सिलसिलामा १६ मंसिरमा हुन लागिरहेको उपनिर्वाचन हाम्रा लागि एउटा ठुलो चुनौतीको विषय छ । परिणामका हिसाबले हामीलाई नोक्सान भइहाल्ने सम्भावना त छैन । किनभने हामीले आठओटा वडाध्यक्ष मात्र गुमाएका छौँ, तैपनि हामीले यो निर्वाचनमा बहुमत निर्वाचन क्षेत्र जित्ने गरी स्पष्ट कार्ययोजना बनाएर अगाडि बढिरहेका छौँ । यो निर्वाचनलाई एउटा मिनी जनमतसंग्रहका रूपमा पनि हामीले लिएका छौँ । बिचमा कमजोरी भए सच्याएर पार्टीलाई सुदृढ र एकताबद्ध बनाई अघि बढ्नेछौँ ।
(गौतम एमाले स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख हुन्)