नेकपा एमालेका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सरकार आफैँले जनतालाई असन्तुष्ट बनाएर नयाँ सरकारको विकल्प खोज्ने परिस्थिति बनाएको बताएका छन्।
प्रेस चौतारी नेपालले सुरु गरेको नियमित अन्तर्संवाद कार्यक्रममा शुक्रबार बोल्दै गौतमले यस्तो बताएका हुन्। अहिलेको सरकारले बजेट विनियोजनमा सत्ता पक्षकै सांसदलाई सन्तुष्ट बनाउन नसकेको, जनधनको सुरक्षा गर्न नसकेर जवाफदेहीविहीन बनेको र राष्ट्रियतामा सौदाबाजी गरेर राजनीतिक दलहरूलाई विकल्पका लागि छलफल आरम्भ गर्न बाध्य बनाएको गौतमको आरोप छ।
‘अहिले सरकारले बाढीपहिरोबाट कति क्षति भइरहेको छ भन्न सकिरहेको छैन । यो गम्भीर मानवीय प्रश्न हो । राज्य छ कि छैन भन्ने कुरा अनुभूति हुन सकेको छैन । सरकार मौन छ, कुनै लाज छैन, जवाफदेहिता छैन । सरकार यस्तो बेखबर भएपछि, जनताले सरकार छैन भन्ने अनुभूति गरेपछि जनता नै विकल्पमा जान्छन् । सरकारले नागरिकको जिउधनको सुरक्षा गर्न सक्दैन भने राजनीतिक शक्तिहरूबीच यसको विकल्प के हुन सक्छ भनेर छलफल त हुन्छ नै,’ गौतमले भने, ‘त्यसैले गठबन्धनको आडम्बरभित्र, गठबन्धनको जामा पहिरिएर मात्र सरकारको रक्षा हुने देखिरहेको छैन ।’
बजेट असन्तुष्टि, प्रधानमन्त्रीको असफल भारत भ्रमणलगायतले पनि सरकारको विकल्प खोज्ने परिस्थिति निर्माण गरेको गौतमको दाबी छ । ‘सत्तारूढ दलभित्रै बजेटका विषयमा असन्तुष्टि छ । बजेट सत्तापक्षका शक्तिशाली नेताहरूको क्षेत्रमा मात्रै केन्द्रित गरिएपछि अधिकांश सांसद असन्तुष्ट हुनुहुन्छ, विकासलाई क्षेत्रीय सन्तुलन मिलाएर सरकारले अगाडि बढाउन सकेको छैन,’ उनले भने।
संविधानले मुलुकलाई समाजवादउन्मुख बनाउने भने पनि शिक्षा, आवासलगायतका थुप्रै मौलिक अधिकार कार्यान्वयनका सवालमा सरकार निकम्मा बनेको र विचारशून्यताबीच बनेको गठबन्धन सरकारले समाजवादतिर जाने लक्ष्य पूरा गर्न नसक्ने गौतमले दाबी गरे।