मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १२ बुधबार
  • Wednesday, 27 November, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ मङ्सिर १२ बुधबार १o:२o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाकाे स्वास्थ्य प्रवर्द्धन केन्द्रमा नि:शुल्क भिडियो एक्स-रे सेवा

कलेजो, मिर्गौला, पाठेघर, घाँटी, छाती लगाएतका अंगमा हुने रोगको एक्स-रे हुने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ मङ्सिर १२ बुधबार १o:२o:oo

काठमाडौं महानगरपालिकाले आउँदो हप्तादेखि नि:शुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने भएको छ । यो सेवा स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सुरु हुन लागेको हो ।

प्रारम्भमा वडा नं. १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नंं. १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नं. १२ मा, मंगलबार र बुधबार वडा नं. १६, २६ र २७ का सेवाग्राहीका लागि वडा नं. २६ मा र बिहीबार र शुक्रबार वडा नं. १० र ३० का सेवाग्राहीका लागि वडा नं. ३० स्वास्थ्य प्रवर्द्धन केन्द्रमा भिडियो एक्स रे गरिनेछ ।

स्वास्थ्य बिमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स रे मेसिन राखिएको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य विभागको योजना छ । महानगरपालिकाले वडा नं. ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. १४ बल्खु, वडा नं. १९ कंकेश्वरी, वडा नंं. २६ लैनचौर र वडा नं. ३० ज्ञानेश्वर, वडा नं. १६ बालाजु, वडा नं. २७ महाबाैद्ध, वडा नं. १२ टेकु र वडा नं. ७ चाबहिलको स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रूपमा तोकिएको छ । यीमध्ये पाँच बिमा बोर्डबाट अनुमोदन भइसकेका छन् भने पाँचवटा अनुमोदनको प्रक्रियामा छन् ।

नसर्ने रोग पहिचान गर्न जाँच
स्वास्थ्य विभागले नसर्ने खालका रोगको पहिचानका लागि मधुमेह, उच्च रक्तचाप र दीर्घ मिर्गौला रोगको जाँच सुरु गरेको छ । मंगलबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले एकल सेवा केन्द्रमा रक्तचाप जाँच गरेर कार्यक्रम थालनी गरेका छन्।

स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार निदानात्मक स्वास्थ्य सेवाको प्रवर्द्धनका लागि ५० हजार व्यक्तिको स्वास्थ्य परीक्षण गरेर अवस्था आकलन गर्ने तथ्यांक तयार पार्ने र त्यसले देखाएको अवस्थाका आधारमा थप कार्यक्रम तर्जुमा गर्ने महानगरपालिकाको योजना छ ।

विभागले हरेक महिनालाई सचेतना अभिवृद्धि गर्ने विशेष महिनाका रूपमा कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत गएको वैशाख महिनामा दृष्टि (आँखा तथा वातावरण), जेठ महिनामा मुख तथा नाक, कान, घाँटी, असारमा ज्येष्ठ नागरिक तथा अपांगता सहायता, साउनमा नवजात र बालबालिका स्वास्थ्य, पोषण तथा स्तनपान, भदौमा उच्च रक्तचाप, असोजमा मधुमेह तथा मोटोपना र कात्तिकमा स्वस्थकर खानपान तथा आरोग्य जीवन सचेतना महिनाका रूपमा निदानात्मक कार्यक्रम सञ्चालन भएका छन् ।

मंसिरमा मिर्गौला तथा अन्य जटिल दीर्घरोग, पुसमा श्वास–प्रश्वास तथा अन्य जटिल दीर्घरोग, माघमा मादक पदार्थ तथा सडक दुर्घटना, फागुनमा क्यान्सर तथा प्रजनन स्वास्थ्य र चैत महिनामा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछन् ।

जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७९/०८० को संघीय स्वास्थ्य विभागको प्रतिवेदनले ७१ प्रतिशत मृत्यृदरको कारण नसर्ने रोग हो भनेर देखाएको छ । यसमा क्यान्सर, मिर्गौलासम्बन्धी दीर्घरोग, मधुमेह, उच्च रक्तचाप मुख्य समस्या हुन् । व्यक्तिले नसर्ने रोगको उपचारका लागि ३७ प्रतिशत (आउट अफ पकेट एक्पेन्डिचर–ओओपी) खर्च गरिरहेको छ । समयमा रोगका विषयमा जानकारी प्राप्त गर्न सकियो भने यो खर्च घटाउन सकिन्छ । 

जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य बिमा 
स्वास्थ्य विभागले मंसिर मसान्तभित्र महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको बिमा दर्ता गरिसक्ने योजना बनाएको छ । त्यसका लागि दर्ता सहयोगीलाई अभिमुखीकरण प्रदान गरेको छ । 

मंसिरमा दर्ता सकिएपछि फागुनबाट कार्यक्रम कार्यान्वयनमा आउनेछ । महानगरपालिकाभित्र अहिले एक लाख परिवार दर्ता भएका छन् । यसमा करिब चार लाख व्यक्ति समेटिने छन् । बिमा कार्यक्रम सुरु भएका वडामा बिरामीको चाप बढ्दै गएको छ । 

महानगरपालिकाले ०८० पुसमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य बिमा बोर्डसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । समझदारीपत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।