नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७–३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट बुधबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको हो ।
परीक्षणका रूपमा ४.२ मेगावाट विद्युत् उत्पादन सफल भएपछि अब क्रमशः उत्पादन बढाउँदै लगिनेछ । सबै युनिटबाट परीक्षण उत्पादन र तोकिएका मापदण्ड पूरा गरी एक महिनाभित्र व्यावसायिक विद्युत् उत्पादन गरिने आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक छवि गैरेले बताए ।
टिमुरे (तातोपानी)स्थित विद्युत्गृहबाट आयोजनाले नै निर्माण गरेको १० किलोमिटर एक सय ३२ केभी प्रसारणलाइनमार्फत उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०÷१३२÷३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
उक्त विद्युत् चिलिमे–त्रिशूली र त्यहाँबाट त्रिशूली–काठमाडौं दुई सय २० केभी प्रसारणलाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारणलाइनलाई निर्माण सम्पन्न गरी गत कात्तिक २१ गतेबाट सञ्चालनमा ल्याइएको थियो ।
रसुवागढीबाट उत्पादित विद्युत्बाट हिउँदयाममा काठमाडौं उपत्यकामा हुने विद्युत् माग व्यवस्थापन गर्न सहज हुनेछ । सुक्खायाम सुरुसँगै भोटेकोशी नदीमा पानीको बहाब घट्ने भएकाले रसुवागढी आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने छैन । हिउँदयाममा आयोजनाबाट करिब ३७ मेगावाट मात्र विद्युत् उत्पादन हुनेछ ।
इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडेलमा विद्युत्गृह, बाँध, सुरुङलगायतका सिभिल संरचना र इलेक्ट्रो मेकानिकल काम गर्न चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसनसँग ३० पुस ०७० मा ठेक्का सम्झौता भएको थियो । इलेक्ट्रोमेकानिकल कार्यका लागि भोइथ हाइड्रो प्रालि, भारतसँग १५ साउन ०७१ मा ठेक्का सम्झौता भएको थियो ।
आयोजनाबाट वार्षिक रूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् बिक्रीबाट कम्पनीलाई वार्षिक तीन अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ ।