एमाले महासचिव शंकर पोखरेलले पार्टीमाथि भ्रमपूर्ण प्रचारमार्फत लगाइएका यती-ओम्नी भ्रष्टाचार आरोप प्रकरणको छानबिन गरेर कारबाहीका लागि तयार रहन सबै दलको ध्यानाकर्षण गराएका छन् । दरबारमार्गमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै पोखरेलले छानबिनका लागि तयार हुन विपक्षीसहितका दललाई चुनौती दिएका हुन् ।
कोभिड महामारीका वेला जनताको जीवनरक्षाका लागि ओम्नी कम्पनीमार्फत चीनबाट स्वास्थ्य सामग्री ल्याइएको, तर बोलकबाेलअनुसार उसले नल्याएपछि धरौटी जफत गरेर कारबाही गरेर सरकारले रकमसमेत रोक्का गरेको विषयलाई अहिले पनि भ्रमपूर्ण प्रचार गरिएको दाबी गरे ।
यस्तै, स्वर्गीय राजा वीरेन्द्रको सम्पत्ति भाडामा दिने निर्णय र प्रक्रिया तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै पालामा यति होल्डिङस कम्पनीलाई टुंगिएको विषय कार्यान्वयनमा जाँदा पनि एमालेलाई नै जोडेर बदनाम गर्ने गरिएको भन्दै छानबिनका लागि तयार रहन सबैको ध्यानाकर्षण गराए । ‘स्वर्गीय वीरेन्द्रको सम्मपत्ति ट्रस्टको सम्पत्तिमा रूपान्तरण भएपछि भाडामा लगाउने प्रक्रिया तत्कालीन प्रधानमन्त्री प्रचण्डको पालामा टुंगिएको कुरा एमालेलाई जोडेर सधैँ बदनाम गरिन्छ, कसले गरेको हो ?, के भयो छानबिन गरौँ, हामी तयार छौँ,’ पोखरेलले भने ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई निशाना साधेर बदनाम गर्ने प्रक्रिया तत्कालीन शान्ति प्रक्रिया सुरु भएपछि माओवादीले सुरु गरेको आरोप लगाउँदै उनले गिरीबन्धु टी स्टेटको हदभन्दा बढी जग्गा सट्टाभर्नाका लागि अदालतले कानुन बनाउन भनेपछि कानुन बनाएको, तर रोक्न आदेश दिएपछि कार्यान्वयन नभएको विषयलाई पनि त्यसैगरी भ्रमपूर्ण प्रचार गरिएको भन्दै पार्टीपंक्तिलाई सचेत हुन पोखरेलले आग्रह गरे ।
उनले सोसल मिडियामार्फत एमालेविरुद्ध भइरहेको नकारात्मक प्रचारको पार्टी पंक्ति र सचेत देशभक्त नागरिक मिलेर खण्डन गर्दै देशलाई सकारात्मक र आशावादको दिशामा अगाडि बढाउन जरुरी रहेको भन्दै त्यस काममा लाग्न आग्रह पनि गरे ।