माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरू एकताको प्रक्रियामा रहेको बताएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिका– ४ कुरिनटारमा आज पार्टी कार्यर्ताहरूसँगको भेटघाट तथा छलफलमा प्रचण्डले विभाजनको शृंखला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताए ।
उनले भने, ‘अब मिल्नुको विकल्प छैन, विभाजनको शृंखला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन ।’ देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले भने, ‘हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ, अहिले बिस्तारै सबै पार्टीका बुद्धिजीवी पनि यो कुरा ठिकै हो भन्न थालेका छन् ।’ अहिलेको निर्वाचन प्रणालीले राजनीतिक भ्रष्टाचार बढाउने उनको भनाइ थियो ।
कार्यकर्तालाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामबारे जनतासामु प्रस्ट पार्न अध्यक्ष दाहालले निर्देशन दिए ।