लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल–गोरुसिंगे–चन्द्रौटा चार लेन सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुने गरी अघि बढाउन निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा विश्व बैंकका सिनियर ट्रान्सपोर्टविज्ञ आमले राजापाक्षेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा मुख्यमन्त्रीले सडकको दुवै किनारको काम सकेर मात्रै कालोपत्रे उप्काएर काम अघि बढाउन निर्देशन दिए।
‘बुटवल–नारायणघाट सडक विस्तार गर्दा जुन समस्या भोग्नुपरेकाे थियो, त्यो समस्या यता भोग्नु नपरोस्। काम गर्दा जनतालाई सास्ती होइन, सुविधा कसरी दिन सकिन्छ भन्नेमा ध्यान दिन जरुरी छ,’ उनले भने, ‘आवागमनलाई कुनै बाधा नपुग्ने गरी सडक विस्तारको कामलाई गति बढाउनेबारेमा धेरै विकल्प खोजेर काम गर्न जरुरी छ।’
पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको चन्द्रौटासम्मको ६९ किलोमिटर सडक क्षेत्र छ। उक्त दुई लेनको सडक अब चार लेनको बन्नेछ। एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री बन्ने जानकारी गराइएको छ।
यो सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल–भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीसँग जोडिन्छ। यो सडक क्षेत्रभित्र पर्ने १० किलोमिटरको करिडोरलाई हरित क्षेत्रको रूपमा विकास गर्ने योजना प्रस्ताव अघि बढाएको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले जानकारी दिए।
बन्न थालेको चार लेन सडकको दुवै किनारलाई हरियाली क्षेत्रको रूपमा विकास गर्ने गरी उच्च प्राथमिकतामा राखेर कार्यक्रम प्रस्ताव गरिएको छ।
मुख्यमन्त्री आचार्यले समस्या भएका क्षेत्रहरूको पहिचान गरेर भूक्षय नियन्त्रणदेखि पर्यटन विकाससँग जोडिएका क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे। पहिलो चरणमा बुटवलदेखि कपिलवस्तुको गोरुसिंगेसम्मको ५० किलोमिटरमा काम हुनेछ।