सिस्नेरी एन्फा एकेडेमी घटनामा ६ बालक गुमाएका परिवारले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा तीन घण्टा तालाबन्दी गरेका छन्।
बिहीबार सातदोबाटोस्थित मुख्यालय गेटमा पुगेर ६ बालकका परिवारले तालाबन्दी गरेका हुन्। पछि नेपाल प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको थियो। एन्फा मुख्यालयमा अहिले ललित स्मृति यू–१८ लिग चलिरहेको छ। तालाबन्दी गरेपछि खेल हेर्न जाने र खेल्न जाने खेलाडी नै केही घण्टा बाहिर बस्नुपरेको थियो।
११ र १२ असोजमा अत्यधिक वर्षा हुँदा मकवानपुरस्थित सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीका ३० मध्ये ६ विद्यार्थीको निधन भएको थियो। एन्फाले यसअघि नै सुरक्षित स्थानमा सार्ने क्रममा पहिरोमा परेको जनाएको थियो।
घटनामा प्रियान्स आचार्य, अनुपम घलान, विकल रेग्मी, साइमन योञ्जन, आदित्य बलम्पाखी र विवश बानियाँको मृत्यु भएको थियो। उनीहरूका प्रतिनिधि पछिल्लो एक सातादेखि काठमाडौंमा न्याय माग्न आएका छन्। उनीहरूले त मंगलबार पत्रकार सम्मेलन गरेर न्याय दिनुपर्ने माग गरेका थिए।
तर, एन्फाले ५५ दिनसम्म कुनै ठोस योजना नल्याएको भन्दै मुख्यालयमै तालाबन्दी गर्न पुगेका हुन्। उनीहरूले न्याय नपाएसम्म धर्ना बस्ने बताउँदै आएका छन्। ‘हामी न्याय माग्न काठमाडौं आएका थियौँ। तर, एन्फाले कुनै चासो नै देखाएपछि यो निर्णयमा पुग्यौँ,’ प्रियान्स आचार्यकी आमाले भनिन्, ‘हामीविरुद्ध प्रहरी परिचालन गरियो।’
पछिल्लो समय एन्फाले यही घटनाको सत्यतथ्य छानबिन गर्न समिति नै गठन गरेको छ। तर, प्रभावकारी नभएको उनीहरूको आरोप छ। त्यस्तै, यही विषयमा संघीय संसदमा समेत छलफल चलेको थियो। पीडितले प्रधानमन्त्री केपी ओलीलाई भेटेर ज्ञापनपत्र पनि बुझाएका थिए।
उनीहरूले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा पनि धर्ना बस्ने योजना बनाएका छन्।