बागलुङको गलकोट नगर अस्पतालमा आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा (सिइओएनसी) सञ्चालनमा ल्याइएको छ। यो सेवा सञ्चालन गरेसँगै अब नगर अस्पतालमा नै गर्भवती महिलालाई शल्यक्रियामार्फत प्रसूति सेवा प्रदान गर्न सहज भएको छ।
गत असोजदेखि सञ्चालनमा आएको सेवामा हालसम्म पाँचजना गर्भवतीको सफल शल्यक्रियामार्फत प्रसूति सेवा प्रदान गरिसकिएको अस्पतालमा प्रमुख डा. राजेश पौडेलले जानकारी दिए। केही वर्ष पहिले प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा रहेको उक्त संस्था नगरपालिकाले स्वामित्वमा लिएर अस्पतालको रूपमा विकसित गरेपछि सेवाहरू पनि क्रमशः थपिँदै गएका छन्।
प्राथमिक स्वास्थ्य केन्द्र हुँदा महिनामा झन्डै तीनदेखि चार महिलाले सुत्केरी सेवा लिने गरेका र अस्पतालमा हाल मासिक १० देखि १२ जनाले सेवा लिँदै आएका डा. पौडेल बताउँछन्। ‘गलकोट नगर अस्पताल यस क्षेत्रको केन्द्रको रूपमा रहेको छ, ताराखोला, बडिगाड र गलकोट क्षेत्रका अधिकांश नागरिक उपचारका लागि आउने क्रम बढ्दै गएको छ,’ डा. पौडेलले भने, ‘अस्पताललाई थप व्यवस्थित गरेर गुणस्तरीय आधारभूत सेवालाई प्रभावकारी गराएका छौँ, पालिकासँगै प्रदेश र संघीय सरकारबाट पनि निरन्तर सहयोग भएको छ।’ उनले यस क्षेत्रमा बार्थिङ सेन्टर धेरै भए पनि शल्यक्रियासहितको सेवा दिने स्वास्थ्य संस्था नभएका कारण गत असोजदेखि उक्त सेवा सञ्चालनमा ल्याइएको बताए।
गर्भवती महिलालाई आकस्मिक रूपमा शल्यक्रिया गर्नुपरेमा यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल नरहेका कारण नगरपालिकाले अन्य पालिकासँग समन्वय गरेर सिइओएनसी सेवा सञ्चालनमा ल्याएको पौडेलको भनाइ छ। उनका अनुसार उक्त सेवा सञ्चालनका निम्ति प्रदेश आपूर्ति केन्द्रबाट आवश्यक उपकरण प्राप्त भएको र परिवार कल्याण महाशाखाको सहयोगमा तालिमप्राप्त जनशक्ति तयार पारिएको हो।
अस्पतालमा सिइओएनसी सेवाको मंगलबार नेपाल सरकारका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उद्घाटन गरे। उनले आमनागरिकको स्वास्थ्य सेवाका लागि सरकारले प्रभावकारी कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको बतए। त्यसका लागि मन्त्रालयमा तीन तहका कार्यक्रम बनाउने पहल भइरहेको जानकारी दिए। मन्त्री पौडेलले यस क्षेत्रका नागरिकको चाहना तथा आमा र बच्चाको स्वास्थ्य सेवाका लागि सिइओएनसी सेवा थप प्रभावकारी बन्नेमा विश्वास व्यक्त गरे।
अस्पतालमा उक्त सेवा सञ्चालनका लागि एनेस्थेसिया असिस्टेन एक, कन्सल्टेसन एमडिजिपी एकजना र स्टाफ नर्ससहित आठजनाको टिम आवश्यक हुन्छ। उक्त जनशक्तिको व्यवस्थापन नगरपालिकाले गरेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए। नगरपालिकाले अस्पताललाई थप व्यवस्थित बनाउन र जनशक्ति व्यवस्थापनका निम्ति आवश्यक स्राेतको सुनिश्चित गरेको नगरप्रमुख शर्मा बताउँछन्।
अस्पतालका लागि गलकोट समाज जापान, गलकोट समाज युकेलगायतका संस्थाले झन्डै एक करोड रुपैयाँबराबरको आवश्यक उपकरण सहयोग गरेका छन्।