रुसले बिहीबार पहिलोपटक युक्रेनमा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको किएभले जनाएको छ। युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै रुसी सेनाले महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी विभिन्न प्रकारका मिसाइलहरू प्रहार गरेको जनाएको हो।
विज्ञप्तिअनुसार रुसको आस्ट्राखान क्षेत्रबाट अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको थियो। युक्रेनी सेनाले क्रेमलिनले आक्रमण सुरु गरेपछि पहिलोपटक आफ्नो सेनाले हतियार तैनाथ गरेको पुष्टि गरेको छ।
हजारौँ किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र प्रहारको विषयमा सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफूले यस विषयमा केही भन्न नसक्ने बताएका छन्।
वायुसेनाले पाँचवटा मिसाइल खसालिएको डिनिप्रो सहर क्षेत्रका प्रमुखले रुसी प्रहारले पुनर्वास केन्द्र, घरहरूका साथै औद्योगिक क्षेत्रमा क्षति पुर्याएको जनाएको छ।
प्रहारमा दुईजना घाइते भएको तथा उनीहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको युक्रेनी अधिकारी सेर्गी लिसाकले बताएका छन्।