गुल्मीको धुर्कोट गाउँपालिका– ६ रजस्थलका ५३ वर्षीय मेघनाथ अर्याल तीन वर्ष विदेशमा काम गरेर फर्किएका व्यक्ति हुन्। उनलाई ‘हैसियत’अनुसार सहर बसे पनि नपुग्ने थिएन। तर, गाउँ आएर खेतको बिचमा दरबारजस्तो घर बनाए।
माटोमै समृद्धिको सपनासहित गाउँले जीवन सुरु गरे। ०७७ सालमा गाउँ फर्किका अर्यालले एक करोड लगानी गरेर ०७८ सालदेखि व्यावसायिक भैँसीपालन गरेका छन्। उनीसँग अहिले २१ वटा माउ भैँसी, एउटा ठुलो राँगो र १४ वटा पाडापाडी छन्। अहिले दैनिक ८० लिटर दुध उत्पादन गरेर बिक्री गर्दै आएका छन्।
भैँसीले गोठ मात्र होइन, पौरखी अर्यालको आँगन पनि धानले भरिएको छ। पहाडमा एउटै व्यक्तिले चार सय मुरी धान फलाएका खासै भेटिँदैनन्। उनले यो साल आफ्नो ७२ रोपनी र लिजमा लिएको २८ रोपनी गरी सय रोपनी खेतमा धान रोपेका थिए। अर्यालले गत असारमा पञ्चेबाजासहित ९२ खेताला, २७ ठिँगारे (मेलो बनाउने मान्छे) र तीन ठुलो ट्याक्टर प्रयोग गरेर एकै दिन सय रोपनीमा धान रोप्दा सबैजना छक्क परे। उनले त्यो वेला झन्डै साढे दुई लाख खर्च गरेको सुनाए। अहिले अर्यालको घरमा पुगेर धानको थुप्रो हुर्ने र फोटो खिच्नेहरूको घुइँचो छ। त्यसैले घरमै थ्रेसर मेसिनमार्फत धान भित्र्याउने चटारोमा अर्याल छन्। करिब चार सय मुरी धान भित्र्याउने अर्यालको दाबी छ।
उनले अहिले तीन सय मुरी धान उठाइसकेकाले अझै सय मुरी धान भित्र्याउन बाँकी रहेको बताए। ‘मधेशमा बसेकालाई पहाडको चामल खुवाउने उद्देश्य हो। बिस्तारै मकै र कोदोमा पनि काम गर्छु,’ उनले भने, ‘कृषिमा सम्भावना देखाउन काम गरिरहेको छु।’ उनले चामलको प्याकेजिङ गरेर बेच्ने योजना बनाएका छन्। अहिले गाउँबाट साढे दुई सय रुपैयाँ प्रतिकिलो चामल बजार पुग्ने गरेको छ। उत्पादन भएको धानबाट चामललाई ब्रान्डिङ गरेर बिक्री गर्ने र भुस भैँसीका लागि दानाको रूपमा प्रयोग गर्ने अर्यालले बताए। धान काटेलगत्तै उक्त जग्गामा मकैखेती, घाँस वा अन्य तरकारी लगाउने तयारी भइरहेको छ। उनलाई श्रीमती तारा अर्यालको राम्रो साथ छ। अर्यालको कृषि कर्मका कारण स्थानीय दर्जनौँ व्यक्तिले रोजगारी पाएका छन्।
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले आफूहरूको स्राेतले भ्याएसम्म सहयोग गरिरहेको बताए। उनले मेघनाथसहितका किसानहरू लाभान्वित हुने फाँटमा सिँचाइको ठुलो संकट भएकाले संघ तथा प्रदेश सरकारले योजना समावेश गर्नुपर्ने बताए। ‘मेघनाथ र पालिकाबाट थुप्रैपटक प्रदेश र संघ पुगे पनि सिँचाइ योजना परेन। उपयोगी ठाउँमा काम नहुने विडम्बना छ,’ उनले भने, ‘पालिकाले स्राेतअनुसार स–साना कामहरूमा सहयोग गरेको छ।’ अहिले मिल स्थापनाका लागि लागत साझेदारी गर्न पालिका तयार रहेको पोख्रेलले बताए।
कृषि ज्ञान केन्द्र, गुल्मीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले कम फले पनि रैथाने जातका धानहरूमार्फत चामलको ब्रान्डिङ गर्न सके बजारको समस्या नहुने बताए। गुल्मी जिल्लाभर यस वर्ष सात हजार हेक्टरमा बर्खे धान लगाएकोमा २१ हजार मेक्ट्रिक टन उत्पादन भएको उनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले परदेशबाट फर्किएपछि गाउँ आएर अर्यालले गरेको कृषिकर्म सबै युवाहरूका लागि सुखद उदाहरण हुने बताए। परदेश मोहले गाउँ रित्तिएका वेला अर्यालले स्वदेशमै सम्भावना देखाउन सकेकोमा प्रशंसा गरे।