मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ५ बुधबार
  • Wednesday, 20 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ५ बुधबार १८:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अराजकता र लोकतन्त्र सँगसँगै जान सक्दैन : प्रदीप ज्ञवाली

अस्थिरताको हुँइया चलाउनेहरुले योजनाबद्ध हर्कत गरिरहेकाे टिप्पणी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ५ बुधबार १८:३५:oo

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने बताएका छन्। एमाले प्रचार विभागले बुधबार आयोजना गरेको सम्पादकसँग अन्तर्क्रिया कार्यक्रममा उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन्।

उनले राजनीतिलाई स्थायित्व दिने हो भने विकास र समृद्धिसँगै जनतामा डेलिभरी पनि चाहिने बताए। ‘निरन्तरताको निगरानी लोकतन्त्रको खबरदारी हो। प्रचण्डले चौथो अभ्यास गरेपछि समस्या भयो। मसँग म्याजिक नम्बर छ भनेर त्यसको जगमा उभिएपछि हामी गम्भीर भयौँ। यो गठबन्धनका परिवर्तनका मुख्य स्टेकहोल्डर हौँ। लोकतन्त्र खतरामा पर्छ भनेर हामीले ७ बुँदे सहमति गरेको हो।’

उनले दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले)सहितका दलको सहकार्यमा सरकार बनेपछि अर्थतन्त्रमा सुधारको संकेत देखिएको र जनतामा भरोसा जगाएको दाबी गरे। उपमहासचिव ज्ञवालीले शान्तिपूर्ण ढंगले सडकमा जाने कुरा ठिक भए पनि अहिले जुन ढंगको भाष्य निर्माण गर्ने प्रयास भैरहेको छ, त्यो गलत भएको प्रस्ट पारे।

विधिको शासनमा सबैलाई कारबाही हुन्छ भन्दै अहिले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पक्षमा गरिएका आन्दोलनको कुनै औचित्य नभएको पनि उनले प्रस्ट्याए। रामायणमा सीताले समेत अग्नि परीक्षा दिएको सन्दर्भ उल्लेख गर्दै उनले रास्वपा सभापतिप्रति एमालेले कुनै प्रतिशोध नसाधेको बताए।

‘अहिले रास्वपामा अरूलाई कानुन लागे पनि हामीलाई लाग्नुहुन्न भन्ने भाष्य निर्माण गर्ने प्रयास भैरहेको छ। त्यो गलत छ,’ ज्ञवालीले भने, ‘ऊर्जाको क्षेत्रीय व्यापार,  विपत्लगत्तै रामेछाप र सिन्धुली जोड्ने पुल २० दिनमै निर्माण गर्ने कुरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनजस्ता कुराहरू सरकारका सकारात्मक कुरा हुन्। सरकार जनताले थाहा पाउने गरी गति दिनुपर्छ भनेर लागेको छ भन्ने सन्देश पनि हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको ‘फेक’ डकुमेन्ट, रवीन्द्र मिश्रसँग प्रचण्डले गरेको कुराकानी र प्रचण्डले भारतीय सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिजस्ता कुरा अस्थिरताको हुइँया चलाउनेहरूको योजनाबद्ध हर्कत भएको ज्ञवालीको टिप्पणी थियो।

मंसिर ७ मा एमालेले गर्न लागेको जागरण अभियान लोकतन्त्र असान्दर्भिक भयो कि भन्नेका विरुद्धको अभियान भएको ज्ञवालीको जिकिर थियो। ‘हामीले सामाजिक सद्भावका लागि पनि जागरण अभियान चलाउन लागेका हौँ। यो अपिल जनतामा लैजान खोजेको हो,’ उनले भने ‘अहिलेको सरकारले जनतालाई सेवा दिने कुरामा कमजोरी गर्नुहुन्न।  तर, अहिले केही भएको छैन भनेर बाहिर जे भाष्य निर्माण गर्न खोजिएको छ, त्यसले देशको मनोबल कमजोर बनाउने प्रयास भएको छ। राष्ट्रको मनोबल कमजोर हुनु भनेको राजनीतिक दल मात्रै होइन, सञ्चार क्षेत्र पनि कमजोर बन्नु हो।’

उपमहासचिव ज्ञवालीले दुर्गा प्रसाईंजस्तो प्रवृत्ति गलत भएको भन्दै कुनै वेला संरक्षण गर्ने कुरामा ध्यान नपुगेको सत्य भएको स्वीकार गरे।