बागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले धादिङको सल्यानटार क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन पहल गर्ने बताएका छन्। लोप हुँदै गएको थुप्रै रैथानेबाली सल्यानटारमा उत्पादन हुने हुँदा सिँचाइको व्यवस्था भएपछि किसानहरू आत्मनिर्भर बन्ने उनले बताए।
त्रिपुरासुन्दरी गाउँपालिका–२, सल्यानटारमा हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको दोस्रो सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री सिलवालले यस्तो प्रतिबद्धता जनाएका हुन्।
‘सिँचाइ आयोजनाका लागि पहिले नै डिपिआर भइसकेको छ । आगामी दिनमा सिँचाइ सुविधा पुर्याएर सल्यानटारलाई हराभरा बनाउन लाग्नेछौँ,’ उनले भने। 'स्थानीय स्रोतको प्रवर्द्धन गरौँ, देश विकासमा टेवा पुर्याऔंँ' भन्ने नाराका साथ त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा दोस्रो सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो।
स्थानीय कृषि उपजलाई प्रवर्द्धन तथा बजारीकरणमा महोत्सवले टेवा पुग्ने सहकारी संस्थाका अध्यक्ष सुरेश श्रेष्ठले बताए। ५ मंसिरदेखि सुरु भएको महोत्सव १५ मंसिरसम्म चल्नेछ। करिब एक लाखले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ।