नेपाली यू–१९ महिला टोलीकी सदस्य तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान गरिएको छ।
नेपाललाई विश्वकपमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेको भन्दै बुधबार रुपन्देही क्रिकेट संघले भैरहवामा नगदसहित सम्मान गरेको हो। रुपन्देहीको ओमसतिया गाउँपालिका–१ निवासी विश्वकर्मालाई संघले ११ हजार १११ रुपैयाँ नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो।
विश्वकर्मा सम्मिलित नेपाली राष्ट्रिय महिला टिमले युएईमा सम्पन्न यू–१९ विश्वकप छनोट खेलमा जित निकाल्दै नेपाललाई विश्वकपमा पुर्याएको थियो। आगामी जनवरीमा मलेसियामा हुने विश्वकपमा नेपालको यू–१९ टिम पनि खेल्नेछ।
क्रिकेटर विश्वकर्मालाई सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, नेपाल क्रिकेट संघका पूर्वकार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक प्रेमकुमार सेन्चुरीलगायतले सम्मान गरेका हुन्।