आणविक ऊर्जाप्रति मोह बढ्नुमा विभिन्न तत्वको भूमिका छ । पूर्वी युरोपका धेरै देश रुसी ग्यासको विकल्प खोजिरहेका छन् । केही उदीयमान अर्थतन्त्रले यसलाई ऊर्जाको बढ्दो माग पूरा गर्ने एउटा स्वच्छ विकल्पका रूपमा हेरिरहेका छन् ।
वर्षौंसम्म वैश्विक जलवायु सम्मेलनमा आणविक ऊर्जालाई समाधान नभएर समस्याका रूपमा हेरियो । डा. बिलबाओ वाई लियोनले सन् १९९९ देखि संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी वार्षिक सम्मेलनमा भाग लिँदै आएकी छिन् । त्यतिबेला उनी आाणविक इन्जिनियरिङ पढिरहेकी थिइन् । प्रायः उनलाई सम्मेलनमा भाग लिन आउने आणविक ऊर्जाविरोधी समूहले ‘यहाँ के गरिरहेको, जाऊ,’ भन्ने गरेको उनी सम्झिन्छिन् । तर, अहिले समय फेरिएको छ ।
गत वर्ष संयुक्त अरब एमिरेट(युएई)मा आयोजना भएको जलवायु सम्मेलनमा २२ देशले पहिलोपटक आणविक ऊर्जा वृद्धि गर्ने प्रतिबद्धता गरे । प्रतिबद्धतामा ती मुलुकले यस शताब्दीको मध्यसम्म आणविक ऊर्जाको प्रयोगलाई तेब्बर बनाउने वाचा गरे । यसपटक अजरबैजनामा आयोजना भएको सम्मेलनमा थप ६ मुलुक सो प्रतिबद्धतामा जोडिएका छन् । ‘आज स्थिति बिलकुल बदलिएको छ । अब धेरै मानिस आणविक शक्तिलाई समाधानको रूपमा बहस गर्न तयार छन्,’ हाल वर्ल्ड न्युक्लियर एसोसियसनकी नेतृत्व गरिरहेकी डा. लियोनले भनिन् ।
नयाँ आणविक रियाक्टर निर्माण गर्ने वाचा गर्ने देशको सूचीमा पहिलेदेखि यस प्रविधिका प्रयोगकर्ता मुलुक क्यानडा, फ्रान्स, दक्षिण कोरिया र अमेरिका त छँदै छन् । त्यसबाहेक अहिले आणविक क्षमता नभएका केन्या, मंगोलिया र नाइजेरियाले समेत यसप्रति रुचि देखिएका छन् । विगत केही वर्षयता विश्वव्यापी तापक्रम वृद्धिको चिन्तासँगै आणविक ऊर्जाप्रतिको रुचि पनि बढिरहेको छ । यो परिवर्तन यसपटकको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा स्पष्ट देखियो । विगतका सम्मेलनमा जस्तै यसपटक पनि ‘भेगन’ तथा सौर्य ऊर्जासम्बन्धी विषयले प्राथमिकता पायो । साथै, टर्की तथा बेलायतजस्ता देशले नयाँ आणविक संयन्त्रका लागि लगानी कसरी जुटाउने विषयक सत्र चलाए । साना आणविक रियाक्टरले कसरी सबै प्रकारका औद्योगिक प्रयोजनका लागि ताप उत्सर्जन गर्न सक्छन् भन्ने छलफल भए ।
आणविक ऊर्जा अझै सर्वसम्मत भइसकेको छैन । कैयाैँ वातावरणविद् यस प्रविधिको उच्च खर्चका कारण यसलाई व्यवहारमा उतार्न धेरै ढिलो हुने हो कि भनेर चिन्तित छन् । आणविक संयन्त्रले कार्बन उत्सर्जन नगरे पनि त्यसबाट आणविक विकिरणयुक्त फोहोर बाहिरिन्छन् । यसका बाबजुद यसपटकको सम्मेलनमा धेरै राजनीतिज्ञले यस प्रविधिप्रति रुचि देखाए ।
आणविक ऊर्जाप्रति बढेको रुचिमा धेरै तत्वले भूमिका खेलेको छ । बेलायत र अमेरिकामा राजनीतिज्ञ तथा व्यवसायी खनिज ऊर्जा ‘फेज आउट’ भएपछि विद्युत्को स्थिर स्रोत आवश्यक हुनेमा जोड दिन्छन् । विशेषतः सौर्य तथा वायु माध्यमले २४सै घन्टा ऊर्जा उपलब्ध गराउन सक्दैन । उता पूर्वी युरोपमा धेरै देश रुसी ग्यासको विकल्पको खोजीमा छन् । केही उदीयमान अर्थतन्त्रले यसलाई उनीहरूको बढ्दो ऊर्जा माग पुर्याउने स्वच्छ विकल्पका रूपमा हेरिरहेका छन् । टर्कीले नविकरणीय ऊर्जाको विकास गर्ने र ऊर्जाको किफायति वृद्धिमा जोड दिइरहेको छ । तर, यतिले नपुग्ने उसको ठम्याइ छ । ‘हाम्रो देशको विद्युत् माग प्रतिवर्ष चार प्रतिशतका दरले बढिरहेकाले लामो कालमा हामीले आणविक ऊर्जा उपभोग ल्याउनैपर्छ,’ टर्कीको ऊर्जा तथा आणविक एजेन्सीका अध्यक्ष अब्दुल्ला बुग्रहान काराभेलीले भने ।
टर्कीमा आजसम्म कामकाजी आणविक संयन्त्र छैन । तर, देशको दक्षिणी तटमा उसले पहिलो संयन्त्र बनाइरहेको छ । दोस्रो र तस्रो संयन्त्र निर्माणका लागि सरकारी पदाधिकारीहरू रुस, चीन र दक्षिण कोरियासँग छलफल गरिरहेका छन् । विश्वमा पछिल्लो दुई दशकमा आणविक माध्यमबाट उत्पादन हुने विद्युत् बढेको छैन । धेरै देश नयाँ आणविक रियाक्टर निर्माणको उच्च खर्च र ढिलासुस्तीले हच्किन्छन् । उता जापान र जर्मनीजस्ता देशले दुर्घटनाको डरका कारण सिर्जित सार्वजनिक विरोधका कारण भएका संयन्त्र पनि बन्द गरे ।
यसपटकको सम्मेलनमा आणविक ऊर्जाको प्रवद्र्धनमा अमेरिकी प्रतिनिधि विशेष सक्रिय देखिए । गत मंगलबार बाइडेन प्रशासनले सन् २०५० सम्म अमेरिकाले कसरी आणविक ऊर्जा तेब्बर बनाउनेछ भन्ने विस्तृत मार्गचित्र प्रस्तुत गर्यो । त्यसलगत्तै बाइडेनले पोल्यान्डमा बनाइने तीन ठुला नयाँ आणविक परियोजनाका लागि ऋण प्रदान गर्ने आश्रय–पत्रमा हस्ताक्ष गरे । अमेरिकी कम्पनी ‘वेस्टिङहाउस’ले बनाउने सो परियोजनाका लागि अमेरिकी सरकारले झन्डै ९७.९ करोड डलर ऋण दिने वाचा गरेको छ । पूर्वी युरोपेली देशको रुसी ग्यासमाथिको निर्भरता कम गर्न अमेरिकाले आणविक ऊर्जाको विस्तारमा रुचि देखाएको जलवायु तथा ऊर्जाका लागि ह्वाइट हाउसका वरिष्ठ निर्देशक जेक लेभिनले बताए । पूर्वी युरोपको अर्को अमेरिकी साझेदार मुलुक रोमानियाले आफ्नो विद्युत् उपभोगको झन्डै २० प्रतिशत हिस्सा आणविक स्रोतबाट पाइरहेको छ । अहिले उसले विगतमा निर्माण सम्पन्न गर्न नसकेका अन्य दुई रियाक्टरलाई पुनः सञ्चालन गर्ने विषयमा पश्चिमी देशसँग वार्ता गरिरहेको छ ।
बाकुमा जारी सम्मेलनस्थलको प्रांगणमा आणविक ऊर्जाको पक्ष र विपक्षमा भइरहेको प्रदर्शनले पनि त्यसैलाई इंगित गर्छ । केही दर्जन प्रदर्शनकारी ‘आणविक ऊर्जा रोक’, ‘जलवायुमाथि आणविक प्रयोग नगर’ लेखिएका प्लेकार्ड बोकेर विरोध जनाइरहेका थिए । ‘आणविक ऊर्जाका लागि प्रयोग हुने सबै खनिज उत्पादन र त्यस क्रममा उत्सर्जन हुने प्रदूषणलाई ख्याल गरियो भने यो स्वच्छ ऊर्जा होइन,’ इक्वेडरको गैरनाफामूलक वातावरणीय समूह ‘एसियोन इकोलोजिका’की इभोन यानेजले भनिन् ।
तर, सम्मेलन केन्द्रको अर्को भागमा ‘जलवायुका लागि आणविक’ भन्ने युवा आणविक प्राज्ञहरूको समूह भने अलग तरिकाले प्रदर्शनमा उत्रिएको थियो । समूहमा दुईजना युवा ध्रुवीय भालुको पहिरन लगाएर नाचिरहेका थिए । दुईमध्ये एक जनाले एउटा हातमा परमाणुको चिह्न रहेको चित्र बोकेका थिए । सो समूहले सन् २०१५ मा पेरिस सम्झौतामा हस्ताक्षर भएको वर्षको सम्मेलनदेखि जलवायु परिवर्तनमा भाग लिँदै आएको छ । ‘सुरुमा हाम्रो संख्या सानो थियो । तर, अहिले यो अभियानले आकार लिँदै गएको छ,’ ब्रसेल्समा बसोवास गर्ने २७ वर्षीय आणविक इन्जिनियर ह्युगो बर्नेटले भने ।
न्युयोर्क टाइम्सका लागि ब्राड प्लमरको आलेख ।