मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ५ बुधबार
  • Wednesday, 20 November, 2024
२o८१ मङ्सिर ५ बुधबार १o:५५:oo
Read Time : > 1 मिनेट
अर्थ

मर्स्याङ्दी महोत्सवको आकर्षण बन्यो ‘हनी हन्टिङ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ५ बुधबार १o:५५:oo

मर्स्याङ्दी गाउँपालिका– ४, ताघ्रिङको मिप्रा भिरमा ‘हनी हन्टिङ’ अर्थात् महसिकार गरिएको छ । दोस्रो मर्स्याङ्दी महोत्सवको अवसरमा मिप्रा भिरमा महसिकार गरिएको हो । पर्यटन प्रवर्द्धनका लागि महसिकारलाई महोत्सवको एक मुख्य आकर्षण बनाइएको मर्स्याङ्दी गाउँपालिकाले बताएको छ । अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको मर्स्याङ्दी गाउँपालिका– ३, खुदीमा हरिबोधनी एकादशीको अवसर पारेर २७ कात्तिकदेखि २ मंसिरसम्म दोस्रो मर्स्याङ्दी महोत्सव ०८१ आयोजना गरिएको थियो ।

छंगाछुर भिरमा डोरीकै भरमा महसिकार गरेको दृश्यलाई धेरै दर्शकले रुचाएका थिए । महसिकार गरेको हेर्न दर्शकको घुइँचो नै लागेको थियो । महसिकार गरेको हेर्न रमाइलो हुन्छ । तर, यो काम गर्न निकै कठिन र जोखिम हुन्छ । ज्यानको बाजी थापेर ‘महसुर’ महसिकारीले मात्रै यस्तो काम गर्न सक्छन् ।

मर्स्याङ्दी गाउँपालिका– ४, मिप्रा भिरमा झुन्ड्याइएको डोरीमा स्थानीय मीनबहादुर गुरुङ भिरमा झर्छन् । करिब पाँच सय मिटर खोचमा खोलालाई कुनै पर्वाह नगरी उनको ध्यान भिर महसिकारमा हुन्छ । तलबाट काँचो स्याउला बालेर आएको धुवाँ र धुवाँसँगै रन्थनिएका मौरी उनको ज्यानमा बेरिन्छन्, तर आफूलाई मौरीले नटोकेको उनी बताउँछन् । उनीपछि पालैपालो डिलबहादुर गुरुङ र राजकुमार गुरुङ पनि भिरमा फालिएको डोरीमा झुन्डिएर महसिकार गर्छन् ।

महसिकार गरेको दृश्य प्रत्यक्ष हेर्न पाउँदा निकै रमाइलो अनुभूति भएको मर्स्याङ्दीकी काशी गुरुङ बताउँछिन् । महसिकार हेर्न मिप्रा भिरमा पुगेका दर्शकले महसिकार मात्र हेरेनन् । उनी मात्र हैन, आङै सिरिङ्ग हुने अग्ला भिरपहरामा निडरका साथ महसिकारीहरूले मह काढेको दृश्य देख्दा आनन्द महसुस भएको भोटेओडारकी विपना कुँवरले बताइन् । उनले भनिन्, ‘भिरमौरीको सिकार गरेको कहिल्यै नदेखेकाले पहिलोपटक देख्दा साँच्चै अविस्मरणीय र रोचक बन्यो ।’  

महोत्सव मूल आयोजक समितिका संयोजक एवं मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिकाभित्रका धेरै ठाउँमा साहसिक तरिकाले महसिकार हुँदै आएको बताए । उनले भने, ‘यस्ता कामले चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्नेछ ।’

लमजुङको घनपोखरा, सिउरुङ, पसगाउँ, खुदी, ताघ्रिङ, भुलभुले, भुजुङ, नाइचे, दुधपोखरीलगायतका भिरपहराहरूमा भिरमौरीहरू प्रशस्त पाइन्छ । झन्डै १५ सयदेखि २५ सय मिटरको उचाइका पहरामा भिरमौरीले घार बनाउँछ ।