कञ्चनपुरको उत्तरी चुरे जंगलबाट हतियारसहित दुई व्यक्ति पक्राउ परेका छन्। भीमदत्त नगरपालिका– ९ खल्लामछेट्टी कालीगडा खोला चुरे जंगल क्षेत्रबाट दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको जनाएको छ।
सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति एसपी खगेन्द्रबहादुर चन्दले बुधबार बिहानीपख जंगलमा हतियारसहित अनधिकृत प्रवेश गरिरहेका १० जनामध्ये दुईजना पक्राउ परेको बताए। चन्दका अनुसार सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) खल्लाका इन्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक भरत कुँवर नेतृत्वको गस्ती टोलीले हतियारसहित दुई युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका– ९ टुँडिखेलका ५३ वर्षीय गगन तरामी र टुँडिखेलकै ५५ वर्षीय प्रेमबहादुर धामी रहेका छन्। उनीहरूको साथबाट दुई नाल भरुवा बन्दुक, दुई प्याकेट बारुद, ३८ टुक्रा सिसा, २७ टुक्रा फलाम, बन्दुकको क्याप १२ र कुखुरी दुई थान बरामद भएको छ। सशस्त्र प्रहरी देखेर उक्त शिकारी समूह भागेको बताइएको छ।
बाँकी सिकारी समूहको पनि खोजी भइरहेको सशस्त्रले जनाएको छ। सशस्त्र प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएका हतियारसहित दुई व्यक्तिमाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ। कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले उक्त विषयमा थप अनुसन्धान गरेर कारबाही गर्ने बताए।