मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ५ बुधबार
  • Wednesday, 20 November, 2024
२o८१ मङ्सिर ५ बुधबार o९:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मोतीपुर औद्योगिक क्षेत्रको कामले लिएन गति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ५ बुधबार o९:४६:oo

झन्डै एक दशकअगाडि घोषणा गरिएको लुम्बिनी प्रदेशस्तरीय मोतीपुर औद्योगिक क्षेत्रको कामले गति लिन सकेको छैन । ०७२ सालमा करिब नौ सय बिघा क्षेत्रफलमा मोतीपुर औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी गरिएको थियो । १२ अर्ब लागत अनुमान गरिएको औद्योगिक क्षेत्रको शिलान्यास भएको पनि चार वर्ष पुग्न थालेको छ । ०७७ सालमा शिलान्यास गरिए पनि जग्गासम्बन्धी विवादका कारण कामले गति लिन नसकेको हो । डिपिआर बनाउनेदेखि वातावरण मूल्यांकनको काम दुई वर्षभन्दा पनि अगाडि नै थालिएको थियो । डिपिआर बनाउने काम भएको, तर वातावरण मूल्याकंनका लागि मोतीपुरमा सार्वजनिक सुनुवाइको कार्यक्रम गर्न नसकेपछि अरू प्रक्रिया अगाडि बढ्न सकेको छैन । 

औद्योगिक क्षेत्र लिमिटेड बुटवलका प्रमुख प्रकाश अधिकारीले मोतीपुरमा जग्गासम्बन्धी विवादका कारण कामले गति लिन नसकेको स्वीकार गरे । अब विवादरहित क्षेत्रबाट काम अगाडि बढाउने गरी छलफल भइरहेको उनको भनाइ छ । उनका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा आएको आठ सय १३ बिघा जग्गामध्ये केही जग्गामा विवाद छ । 

रानीगन्ज क्षेत्रको ४५ बिघा जग्गामा र अन्य क्षेत्रमा गरी दुई सय ५० बिघा जग्गामा विवाद रहेको छ । अब विवाद रहेको जग्गा छाडेर विवादरहित जग्गाबाट भए पनि काम अगाडि बढाउनुपर्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालको भनाइ छ । ‘मोतीपुरमा औद्योगिक क्षेत्र स्थापनाको काम अगाडि बढाउन थालिएको वर्षौँ भए पनि जग्गाका कारण अवरुद्ध छ, अब विवादरहित जग्गामा तत्काल काम थाल्नुपर्छ भन्ने हाम्रो माग रहँदै आएको छ,’ उनले भने ।

लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष तथा रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र स्थापना नहुँदा औद्योगिक विकास अवरुद्ध भएको भन्दै तत्काल मोतीपुरको काम अगाडि बढाउनुपर्ने बताए ।