गण्डकी प्रदेशको लाइफलाइन मानिएको मुस्ताङको कोरला नाकामा तीन साताअघि अध्यागमन कार्यालय उद्घाटन गरिए पनि सञ्चालनमा आएको छैन । नेपाल र चीनको २४ नम्बर सीमास्तम्भमा रहेको नाकामा स्थापना गरिएको कार्यालय १४ कात्तिकमा तामझामबिच गृहमन्त्री रमेश लेखक र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए ।
उद्घाटनपछि पोखरा आएका गृहमन्त्री लेखकले कार्यालय स्थापनासँगै नाकाबाट आवतजावत गर्न चाहने जोकोही नेपालीलाई सहज हुने बताएका थिए । साथै, चीनबाट नेपाल आउनेले एक सय ५० दिनको भिसा सोही कार्यालयबाटै पाउनेसमेत जानकारी दिएका थिए । दुई देशका नागरिकहरूको आवतजावतसँगै द्विपक्षीय व्यापार अभिवृद्धिका लागि समेत कार्यालयले महŒवपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो । तर, उद्घाटनका क्रममा खुला रहेको कार्यालय त्यसपछिका दिनहरूमा भने बन्द छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उद्घाटनसँगै तिहार बिदा परेको र खटिएका चारजना कर्मचारी बिदा मनाउन गएपछि नआएका कारण कार्यालय सञ्चालन हुन नसकेको बताए । ‘कार्यालय रहेको स्थान निकै चिसो छ, आउने कर्मचारीका लागि बस्ने स्थान सोहीअनुसार बस्न लायक त हुनुपर्यो नि,’ भुसालले भने, ‘बस्नका लागि आवश्यक संरचना र अन्य आवश्यक सामग्री तयारपछि कार्यालय नियमित सञ्चालमा आउँछ ।’ उनले अबको दुई तीन दिनमा कार्यालय सञ्चालनमा आउने बताए ।
कार्यालयमा शाखा अधिकृतको नेतृत्वमा आठजनाको दरबन्दी रहेको छ । त्यसमध्ये शाखा अघिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर र चारजना खरदारमध्ये तीनजना अध्यागमन कार्यालयले खटाउने र बाँकी कार्यालय सहयोगी र अन्य कर्मचारी करारमा मुस्ताङबाटै नियुक्त गर्ने बताए । सम्भवतः बिहीबारसम्म अध्यागमनले खटाएका कर्मचारीहरू आइसक्ने उनको भनाइ छ ।