छठपछि प्रवेशमा रोक लगाइएको धरहरा शुल्क निर्धारणपछि मात्र सञ्चालनमा ल्याउने भनिए पनि हाललाई निःशुल्क नै गरिएको छ
बन्द हुँदै खुल्दै गरी पछिल्लोपटक बन्द भएको धरहरा तीन दिनअघिदेखि सञ्चालनमा आएको छ । १० दिन सर्वसाधारणलाई प्रवेशमा रोक लगाएर आइतबारदेखि धरहरा सञ्चालनमा आएको हो ।
लिफ्ट बिग्रिएपछि बन्द भएको धरहरा मर्मतपछि सञ्चालनमा ल्याएको सहरी विकास मन्त्रालयको सहरी विभाग तथा भवन निर्माण विभागअन्तर्गत आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।
छठपछि प्रवेशमा रोक लगाइएको धरहरा शुल्क निर्धारणपछि मात्र सञ्चालनमा ल्याउने भनिए पनि हाललाई निःशुल्क नै गरिएको छ । ‘लिफ्ट मर्मत सकिँदा मन्त्रिपरिषद्को निर्णय पनि आउला भन्ने लागेको थियो । तर, हालसम्म शुल्क स्वीकृत हुन नसकेकाले निःशुल्क नै गरेका छौँ ।,’ एकाइ प्रमुख प्रकाश अर्यालले भने ।
बालबालिका, वृद्धवृद्धाबाहेक अन्यले अनलाइन फाराम भरेर धरहरा चढ्ने टिकट लिनुपर्ने हुन्छ । दैनिक ६ सय जनासम्म चढ्ने व्यवस्था भए पनि असोजयता करिब ९० हजारले चढिसकेका छन् ।
प्रधानमन्त्री केपी ओलीले निर्माण सम्पन्न नहुँदै तीन वर्षअघि उद्घाटन गरेको धरहरा गत ३ असोजदेखि सर्वसाधारणका लागि सञ्चालनमा आएको हो । कार्यविधिविना नै सञ्चालनमा ल्याइएको धरहरा सञ्चालन र व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिने निर्णय भएसँगै चौतर्फी विरोध भइरहेको छ ।