अन्तर्राष्ट्रिय फेन्सिङ महासंघले आयोजना गरेको लेभल २ कोर्स लिन हंगेरीको बुढापेस्टमा पुगेका प्रशिक्षक जलेन्द्रबहादुर शाही नेपाल फर्केनन्, परीक्षा सकेको भोलिपल्ट नै घर फर्कने बताएका उनी अहिलेसम्म सम्पर्कविहीन छन्
हंगेरीको बुढापेस्टमा तीन महिनाको लेभल २ प्रशिक्षण लिन पुगेको नेपालको फेन्सिङका पूर्वखेलाडी तथा राष्ट्रिय टोलीका प्रशिक्षक जलेन्द्रबहादुर शाही त्यतै युरोपमा लुकेका छन् । नेपाल फेन्सिङ संघले शाहीलाई सबै किसिमको जिम्मेवारीबाट मुक्त गरी कारबाही गरेको महासचिव सुजनलाल श्रेष्ठले जानकारी दिएका छन् । ‘संघले प्रशिक्षक शाहीलाई हंगेरीमा लेभल २ को प्रशिक्षण गर्न पठाएको थियो, तर अहिले उनी सम्पर्कविहीन छन्, हामीले कारबाही स्वरूप उनलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका छौँ,’ श्रेष्ठले भने ।
शाही कैलाली जिल्ला फेन्सिङ संघका अध्यक्ष र सुदूरपश्चिम प्रदेश फेन्सिङ संघका उपाध्यक्ष हुन् । ‘युरोपमा लुकेपछि हामीले उसका सबै जिम्मेवारीमुक्त गरेका छौँ,’ श्रेष्ठले भने, ‘यदि भविष्यमा नेपाल फर्किए, उनलाई पुनः कारबाही गरिनेछ ।’ संघले तीन महिनासम्म चलेको लेभल २ को प्रशिक्षणमा फेन्सिङका मुख्य प्रशिक्षक बनाउन नै शाहीलाई हंगेरीमा पठाएको हो । राष्ट्रिय फेन्सिङ टोलीका मुख्य प्रशिक्षण गर्न कम्तीमा लेभल २ कोर्स पास गर्नुपर्छ ।
यो लेभल २ कोर्स पास गरेलगत्तै शाहीले मुख्य प्रशिक्षक जिम्मेवारी पाउने पक्का थियो । फेन्सिङका खेलाडी तथा प्रशिक्षकलाई एक्सपोज गर्न अन्तर्राष्ट्रिय फेन्सिङ महासंघले लेभल २ कोर्स कार्यक्रम आयोजना प्रत्येक वर्ष आयोजना गरिरहेको हुन्छ । ‘हंगेरीको कोर्सपछि मुख्य प्रशिक्षक बन्न उसको योग्यता पनि पुग्ने थियो, तर संघले निकै आशा गरेका व्यक्ति नै यतिवेला हंगेरीबाट सम्पर्कविहीन भएका छन्,’ श्रेष्ठले भने, ‘हामीले उनी युरोपमा लुक्छन् भन्ने कल्पना पनि गरेका थिएनौँ ।’
हंगेरी दूतावासलाई इमेल
राष्ट्रकै इज्जत नराम्रो बनाएका व्यक्तिलाई तत्कालै नेपाल फर्काउन नेपाल फेन्सिङ संघले हंगेरीमा रहेको दूतावासमा पत्र पठाएको छ । ‘उनलाई तत्कालै नेपाल फर्काउन हामीले हंगेरीको दूतावासलाई इमेल गरेका छौँ,’ महासचिव श्रेष्ठले भने, ‘सम्बन्धित निकायले लुकेका प्रशिक्षकलाई नेपाल फर्काउन सहयोग गर्ने विश्वास दिलाएको छ ।’ पछिल्लो समय शाहीको सोसल मिडियामा उनले स्पेनको विभिन्न सहरबाट पोस्ट गरेका छन् ।
संघले पनि उनी अहिले पनि स्पेनमा रहेको अनुमान गरेको छ । ‘शाही स्पेनमा रहेको प्रारम्भिक अनुमान छ, सोसल मिडिया सबैलाई ब्लक गर्नुअघि उसले स्पेनमा घुमघाम गरेको तस्बिर पोस्ट गरेका थिए, त्यसपछि केही पनि अपडेट छैन,’ श्रेष्ठले भने, ‘हामी सम्भवतः स्पेनमा रहेको नेपालको राजदूतावाससँग पनि यस सम्बन्धमा सहकार्य प्रयासमा छौँ ।’
नेपाल आउन छोरा बिरामीको बहाना
अन्तर्राष्ट्रिय फेन्सिङ महासंघले बुढापेस्टमा रहेको फेन्सिङ एकेडेमीमा लेभल २ कोर्स आयोजना गरेको थियो । त्यसै एकेडेमीमा विभिन्न राष्ट्रबाट आएका खेलाडी तथा प्रशिक्षकहरूलाई राखेको थियो । नेपालबाट प्रतिनिधित्व गरेका शाहीले निर्धारित समयअगाडि अन्तिम परीक्षापछि घर फर्कने महासंघलाई आग्रह गरेका थिए । परीक्षा सकेको भोलिपल्ट नै नेपाल फर्कने भनी उनले महासंघका बुढापेस्टस्थित एकेडेमीमा रहेका पदाधिकारीलाई जानकारी दिए । फेन्सिङ संघले उनको आउने र जाने टिकट व्यवस्थापन गरेको थियो । महासंघले शाही नेपाल फर्कन्छन् भनी विमानस्थलसम्म कोही पनि पदाधिकारी पठाएन । र, शाही नेपाल आउने विमान नसमाती सीधै ट्रेनको यात्रा गरी स्पेन पुगे ।
‘छोरा धेरै बिरामी भएको र तत्काल परीक्षा लिएर नेपाल फर्कने भनेका रहेछन्, त्यसपछि महासंघले अवस्थाअनुसार परीक्षा लियो,’ महासचिव श्रेष्ठले भने, ‘उनी नेपाल नआएर सम्भवतः ट्रेन चढेर स्पेन पुगेजस्तो लाग्छ ।’ अन्तर्राष्ट्रिय फेन्सिङ महासंघले प्रशिक्षणमा रहेका शाही सम्पर्कविहीन भएको केही दिनअगाडि मात्रै नेपाल फेन्सिङ संघलाई जानकारी दिएको थियो । ‘हामीलाई सम्बन्धित निकायबाट शाही युरोपमा लुकेको जानकारी प्राप्त भयो, अहिलेसम्म हामीलाई उनी स्पेन वा अन्य युरोपियन राष्ट्र भएको केही आधिकारिक जानकारी छैन,’ श्रेष्ठले भने । शाहीले भने युरोपमै रहेका साथीहरूलाई केही दिनका लागि स्पेन आएको र हंगेरी फर्कने जानकारी दिएका रहेछन् । तर, उनी स्पेनबाट न नेपाल न हंगेरी नै फर्केका छन् ।
नेपालकै राम्रा खेलाडी र प्रशिक्षक
फेन्सिङका शाही आफ्नो समयमा नेपालकै एक राम्रा खेलाडी तथा प्रशिक्षक हुन् । घरेलु टोलीमा उनी विभागीय टोली त्रिभुवन आर्मी क्लबमा आबद्ध थिए । आर्मीबाट प्रतिनिधित्व गर्दै उनले नेपालगन्जको सातौँ र पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । सन् २०१९ मा नेपालमै भएको १३औँ दक्षिण एसियाली खेलकुदमा उनले मुलुकलाई पदक दिलाएका थिए । नेपालकै पहिलो पुस्ताका फेन्सिङ खेलाडी रहेका शाहीले केही वर्षअगाडि मात्र सक्रिय खेलबाट सन्न्यास लिएको घोषणा गरेका थिए ।
त्यसपछि नयाँ खेलाडी उत्पादन गर्न उनले प्रशिक्षण जिम्मेवारी सम्हाले । यस कार्यमा संघबाट पनि उनलाई साथ मिल्यो । ‘खेलाडीका रूपमा शाहीलाई आफ्नो विधामा कसैले हराउन सक्दैनथे, यति मात्र नभई युवा खेलाडीलाई राम्रो प्रशिक्षण दिन सक्ने व्यक्ति थिए,’ श्रेष्ठले भने, ‘प्रमुख प्रशिक्षक बन्ने सबै गुण र क्षमता भएका कारण नै संघले उसलाई मुख्य प्रशिक्षकसमेत बनाउने तयारी थियो ।’
सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा भएको १८औँ एसियन खेलकुद प्रतियोगितामा शाहीले नेपाली फेन्सिङ टोलीका सहायक प्रशिक्षक भूमिका निर्वाह गरेका थिए ।
नेपाल फर्काउन हंगेरी दूतावासमा पत्रचार गरेका छौँ : सुजनलाल श्रेष्ठ, महासचिव, नेपाल फेन्सिङ संघ
राष्ट्रकै इज्जत नराम्रो बनाएका व्यक्ति शाहीलाई तत्कालै नेपाल फर्काउन हामीले हंगेरीमा रहेको दूतावासमा पत्र पठाएको छौँ । सम्बन्धित निकायले लुकेका प्रशिक्षकलाई फर्काउन सहयोग गर्ने विश्वास दिलाएको छ ।
संघले नै उसलाई हंगेरीमा बस्नेदेखि टिकटसम्म व्यवस्था गरी लेभल २ को प्रशिक्षण गर्न पठाएको थियो, तर अहिले उनी सम्पर्कविहीन छन्, हामीले कारबाही स्वरूप उनलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका छौँ । यो कोर्सपछि उसलाई नै मुख्य प्रशिक्षक बनाउने हाम्रो तयारी थियो, तर निकै आशा गरेका व्यक्ति नै युरोपमा लुक्छन् भन्ने कल्पना पनि गरेका थिएनौँ ।