कतारले गर्यो एयरबस–३३० विमानबाट उडान, सातामा २४ उडान पुगे
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी विमानबाट पहिलो व्यावसायिक उडान भएको छ । कतार एयरवेजको ३०५ सिट क्षमताको वाइडबडी विमान एयरबस–३३० मंगलबार दिउँसो भैरहवा अवतरण गरेको हो ।
भैरहवामा कतारको यो पहिलो उडान हो । दोहाबाट ३३ यात्रु बोकेर आएको वाइडबडी विमान दिउँसो २:४८ बजे भैरहवा विमानस्थलमा अवतरण गरेको थियो । एक यात्रु भैरहवामै ओर्लिए भने ३२ यात्रु काठमाडौं आएका थिए । कतारको विमान अवतरण गर्दा जजिरा एयरवेज र फ्लाई दुबईको विमान पनि भैरहवा विमानस्थलमै रहेको महाप्रबन्धक प्रताप तिवारीले बताए । जजिराको उडान बिहान भए पनि खराब मौसमका कारण काठमाडौं डाइभर्ट भएर दिउँसो भैरहवा पुगेको थियो ।
कतारले वाइडबडीबाट दोहा–भैरहवा–काठमाडौं–दोहा दैनिक एउटा उडान गर्ने महाप्रबन्धक प्रताप तिवारीले बताए । भैरहवाबाट दिउँसो ४ः४५ बजे काठमाडौंका लागि उड्ने र ६:५५ बजे काठमाडौंबाट दोहाका लागि उडान गर्ने तालिका छ । अपर्झट भैरहवा उडान गरेको हुँदा कतारले थोरै यात्रु बोकेर आउनुपरेको उनको भनाइ छ । उनले थपे, ‘अब भैरहवा उडानको प्रचार गर्नुपर्छ, भैरहवाकै लागि टिकट बुकिङ खोल्नुपर्छ, बिस्तारै यात्रु बढ्दै जानेछन् ।’
कतार एयरवेजले १५ मंसिरसम्मका लागि दोहा–भैरहवा उडानको अनुमति लिएको छ । यस अवधिमा कतारले भैरहवामा कुल १९ फ्लाइट गर्ने बताइएको छ । कतार थपिएसँगै भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या पाँच पुगेको छ । यसअघि नै थाई एयर एसिया, जजिरा, फ्लाई दुबई, नेपाल वायुसेवा निगम (नेवानि)ले भैरहवामा अन्तर्राष्ट्रिय उडान सुरु गरिसकेका छन् ।
कतार एयरवेज र फ्लाई दुबईले सातामा सातै दिन उडान गर्नेछन् भने जजिराले सातामा तीन, नेवानिले पाँच र थाई एयर एसियाले दुई उडान गर्नेछन् । अब भैरहवामा सातामा सातै दिन अन्तर्राष्ट्रिय उडान हुने तिवारीले बताए । आइतबार, बुधबार शुक्रबार र शनिबार तीन–तीन तथा सोमबार, मंगलबार र बुधबार चार–चार उडान हुनेछन् ।