कञ्चनपुरको भीमदत्त नगरपालिका– ४, महेन्द्रनगरस्थित केशव आश्रममा युवा-विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। महेन्द्रनगर नगर विकास समितिको जमिनमा अवैध रूपमा निर्माण भएको उक्त आश्रममा युवा विद्यार्थीले शनिबार तालाबन्दी गरेका हुन्।
अवैध संरचना हटाउने अभियान चलाएको भीमदत्त नगरपालिकाले उक्त आश्रममा तालाबन्दी गरे पनि सञ्चालक आफूनिकट व्यक्ति रहेकाले पुनः आश्रम सञ्चालन गर्न दिएको भन्दै युवा-विद्यार्थीले तालाबन्दी गरेका हुन्। कञ्चनपुरमा सरकारी जमिन अतिक्रमणविरुद्ध आन्दोलनरत नेकपा बहुमतका युवा नेता दीपेन्द्रसिंह ऐरीले नगरपालिकाले अवैध संरचनामाथि विभेद गरिएको भन्दै आफूहरूले तालाबन्दी गरेको बताए।
कांग्रेस नेतृत्वको भीमदत्त नगरपालिकाले आफूनिकट व्यक्तिका अवैध संरचना जोगाउने र अन्य दलनिकटका संरचनामा डोजर लगाउने दोहोरो विभेदकारी नीति लिएको आरोप लगाउँदै उनले त्यस्तो प्रवृत्तिविरुद्ध एक्सनमा उत्रिएको बताए। ‘नगरपालिका आफूनिकट व्यक्तिका अवैध संरचना संरक्षणमा जुटेको छ,’ उनले भने, ‘फरक दलका मान्छेका घर भत्काउनेदेखि चाबी लगाएर भवन नियन्त्रणमा लिएको छ। तर, केशव आश्रमलाई चाबी दिएर सञ्चालन गर्न खोज्दा हामीले तालाबन्दी गरेका छौँ।’
तर, नगरपालिकाले भने केशव आश्रमलाई ताला-चाबी नदिएको जनाएको छ। भीमदत्त नगरपालिका– ४ का वडाध्यक्ष सुशील भट्टले नगरपालिकाले नियन्त्रणमा लिएका संस्थागत भवनका ताला फिर्ता नदिएको भन्दै उनीहरूले पछाडितर्फ रहेको चाबीले खोलेर आवतजावत गरेको हुन सक्ने बताए। उनले भने, ‘संस्थागत संरचना भत्काउनु नै परे पनि भत्काउँछौँ, खोकाछाप्राको हकमा अदालतमा मुद्दा परेको छ, त्यही भएर अतिक्रमण हटाउने काम रोकिएको हो। हामीले अतिक्रमण हटाउने विषयमा पार्टी, आफन्त, विभेदभन्दा सीधै अतिक्रमण हटाउने कामतर्फ मात्रै केन्द्रित छौँ।’