नेपाली विशेषताको समाजवाद निर्माण गर्ने लक्ष्यसहित गठन भएको समाजवादी मोर्चाका नेता आ–आफ्नै मेसोमा व्यस्त, चार महिनायता बैठकसमेत बस्न सकेन
प्रमुख प्रतिपक्ष दल माओवादीसहित चार पार्टी सम्मिलित समाजवादी मोर्चा केही समययता सुस्ताएको छ । नेपाली विशेषताको समाजवाद निर्माण गर्ने लक्ष्यसहित गठन भएको मोर्चाका नेता आ–आफ्नै मेसोमा व्यस्त छन् । ४ असार ०८० मा गठन भएको मोर्चाको चार महिनायता बैठक बसेको छैन । मोर्चाले आफैँले घोषणा गरेका कार्यक्रमसमेत अलपत्र छन् ।
मोर्चाका संयोजक नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव कपिलवस्तुमा आलु रोप्न व्यस्त छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी गतिविधिमै दौडधुपमा छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेनेजुयला भ्रमणमा छन् । नेसपा अध्यक्ष महिन्द्र राय यादवले मोर्चाको भेउ नै पाउन सकेका छैनन् । यादव मोर्चाको एउटा बैठकमा मात्रै सहभागी भएका छन् । मोर्चा गठनताकाका सदस्य रहेका जसपा अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनपछि औचित्य समाप्त भएको भन्दै मोर्चाबाट अलग भएका छन् ।
एमाले–माओवादी–एकीकृत समाजवादी–जसपा सत्तागठबन्धन भएपछि मोर्चा संकटमा परेको थियो । त्यही वेला जसपा नेपाल विभाजन भएको थियो । त्यसपछि मोर्चा पुरानो लयमा फर्किन सकेको छैन । कांग्रेस–एमाले सत्तागठबन्धन बनेपछि गत १ साउनमा मोर्चाको बैठक बसेको थियो । बैठकमा महिन्द्र राय यादव सहभागी थिए । मोर्चाका घटकबिचमा पार्टी एकतासम्मको कुरा भए पनि त्यसपछि बैठक नै बस्न सकेको छैन ।
साउनमा बसेको बैठकले राजनीतिक घटनाक्रमको समीक्षा र भावी योजनासहित राजनीतिक दस्ताबेज तयार पार्न १५ दिनको समय दिएर कार्यदल गठन गरेको थियो । कार्यदलको बैठक एक महिनापछि बसे पनि ठोस प्रस्ताव ल्याउन सकेन ।
माओवादी महासचिव देव गुरुङ, एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठलाई दस्ताबेज तयार पार्ने जम्मा दिइएको थियो । कार्यदलमा दस्ताबेजमाथि छलफल भएपछि शीर्ष तहमा पेस हुन सकेको छैन ।
दस्ताबेजको मस्यौदा तयार भए पनि अन्तिम रूप दिन बाँकी रहेको कार्यदलका सदस्यहरूको भनाइ छ । दस्ताबेजमा मोर्चाको विगतको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र आगामी योजना समेटिएको छ । विगतको समीक्षा गर्दै आगामी कार्यक्रम तय गर्ने नेताहरूले दाबी गरे पनि पछिल्लो समय मोर्चाको गतिविधि शून्य छ ।
मोर्चाको सचिवालय सदस्य रहेका माओवादी महासचिव देव गुरुङले बैठक नबस्दा मोर्चाबारे प्रश्न उठेको र अब लक्ष्य अनुसार मोर्चा अघि बढ्ने बताए । ‘नेताहरूको व्यस्तताले बैठक बस्न ढिलाइ भएको हो । बैठक नबस्दा मोर्चाबारे प्रश्न उठेको हुन सक्छ । मोर्चाको औचित्य नै समाप्त भयो भन्ने होइन । कार्यदलमा पनि हामीले छलफल गरेका छौँ । विगतको समीक्षा गर्दै अघि बढ्छौँ । अब मोर्चाको बैठक पनि बस्छ र लक्ष्य अनुसार मोर्चा अघि बढ्छ’, उनले भने ।
त्यस्तै मोर्चाको कार्यदलका सचिवालय सदस्य एवं एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमालले बैठकबारे तयारी भैरहेको बताए । ‘ पछिल्लो समय मोर्चाको बैठक बस्न सकेको छैन । कार्यदलमा दस्तावेजवारे छलफल भयो, त्यसपछि थप छलफल भएको छैन । बैठक बस्ने बारे कुरा हुँदै छ’, उनले भने ।
संयोजक विप्लव पार्टीले सञ्चालन गरेको सामूहिक कृषि तथा जनकम्युनको अवधारणाअनुसार कपिलवस्तुको शिवराज नगरपालिकास्थित केन्द्रीय कार्यालयनजिकै पाँच बिघा क्षेत्रफलमा आलु लगाउने क्रम जारी रहेको उनको सचिवालयले जनाएको छ । चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलालीलगायत क्षेत्रमा पनि आलु रोपिने नेकपाले जनाएको छ । धान भित्र्याएपछि आलु खेती लगाउन थालेको नेकपाका नेताहरूले बताएका छन् ।
यहीबिचमा समाजवादी मोर्चाको घटक माओवादी अध्यक्ष प्रचण्डसँग मोर्चाका सचिवालय सदस्यसचिव खड्गबहादुर विश्वकर्माले भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न विश्वकर्मा बुधबार प्रचण्डनिवास खुमलटार पुगेका थिए ।
राजनीतिक, सांगठनिक र संघर्षका रूपमा कार्यक्रम ल्याउने तयारी गरेपछि ढिलाइ भएको मोर्चाका सचिवालय सदस्यहरू स्विकार्छन् । ‘यही पाराले मोर्चा चल्दैन । मोर्चा थियो र भन्ने अवस्थामा पुगिसकेको छ,’ कार्यदलका एक सदस्यले भने, ‘मोर्चालाई सशक्त बनाउन दायरा फराकिलो बनाउँदै जानुपर्छ । विगतमा देखिएका समस्याबाट पाठ सिकेर जानुपर्छ । राजनीतिक रूपमा जनताले बुझ्ने गरी कार्यक्रम तयार पार्नुपर्छ । संगठन र संघर्षका कार्यक्रमलाई छरितो बनाउनुपर्छ ।’
४ असार ०८० मा माओवादी, एकीकृत समाजवादी, जसपा नेपाल र नेकपा सम्मिलित चारदलीय मोर्चा घोषणा गरिएको थियो । सुरुमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल मोर्चाको संयोजक थिए । आलोपालो नेतृत्वको मोडालिटीअनुसार नेपालपछि विप्लव हाल संयोजक छन् ।
निर्णय कार्यान्वयनमै समस्या
समाजवादी मोर्चाको विगतको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ । नारा देशव्यापी प्रचार–प्रसार गर्ने, भित्तेलेखन, ब्यानर, पर्चालगायतबाट मोर्चाको नीति जनतामाझ पुर्याउने, उपत्यकामा वामपन्थी बुद्धिजीवी, व्यवसायीहरूसँग केन्द्रीयस्तरको अन्तरक्रिया गर्ने, प्रदेशस्तरमा विचार–गोष्ठी गर्ने निर्णय अलपत्र परेको हो ।
नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मोर्चाको लक्ष्य छ । विद्यमान राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतीको सामना गर्दै देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाउने उद्देश्य मोर्चाको छ ।
संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न साझा मुद्दा, लक्ष्य र उद्देश्य प्राप्तिका लागि मोर्चाका शीर्ष नेताहरूले प्रतिबद्धता जनाएका छन् । तर, कार्यान्वयन भने हुन सकेको छैन ।