प्रवासी नेपाली मञ्च (ओएनएफ) साउथ अस्ट्रेलियाले अन्तराष्ट्रिय टोपी दिवस तथा अंग्रेजी नयाँ नयाँ वर्ष २०२५ को उपलक्ष्यमा पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।
एडिलेडको स्थानीय जोन मिलर रिजर्भबाट समुद्री किनार हुँदै पदयात्रा सुरु गरेर एडिलेडको प्रमुख समुद्री किनार ग्लेनेल पुगेर पुन: जोन मिलर रिजर्भमा आएर पदयात्रा समापन भएको थियो । पदयात्रामा अस्ट्रेलियाको सांगीतिक यात्राको क्रममा रहेका कलाकारहरू सत्यराज आचार्य र स्वरूपराज आचार्यसमेत सहभागी थिए ।
पदयात्रापछि आयोजित कार्यक्रममा साउथ अस्ट्रेलियाको नेपाली मूलकी पहिलो काउन्सिलर रेनुका लामासहित अतिथिले १५ जना विद्यावारिधि गरेर साउथ अस्ट्रेलियामा रहेका नेपालीलाई दोसल्ला, ढाका टोपी तथा प्रमाणपत्रले सम्मान गरेका थिए । लामाले विदेशमा आएर सिकेको ज्ञान र सीपलाई नेपाली समुदाय र मातृभूमिका लागि समेत उपयोगमा ल्याउन आग्रह गरेकी थिइन् ।
कार्यक्रममा एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक सञ्जय पुरीले नेपाली जहाँ भए पनि आधार भूमि नेपाललाई बिर्सनु नहुने बताए । उनले टोपी दिवसमार्फत नेपाललाई चिनाउने प्रयासका लागि सहभागी सबैलाई धन्यवाद दिए ।
प्रवासी नेपाली मञ्चकै आयोजनामा अस्ट्रेलियाको राजधानी क्यानबेरा र वेस्टन अस्ट्रेलियामा समेत टोपी दिवस मनाइएको छ ।