मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १८ बिहीबार
  • Saturday, 04 January, 2025
२o८१ पौष १८ बिहीबार २o:५७:oo
Read Time : > 6 मिनेट
नयाँ यात्रा २०२५ प्रिन्ट संस्करण

‘जेन–जी’ पुस्ताका सात विश्वचर्चित अनुहार 

Read Time : > 6 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १८ बिहीबार २o:५७:oo

सन् १९९० को दशकको बिचदेखि सन् २०१० को दशकको मध्यान्तरबिचमा जन्मिएका (अझ सटिक रूपमा भन्दा सन् १९९७ देखि २०१२ बिचमा जन्मिएका) जनसंख्यालाई अंग्रेजी वर्णमालाको अन्तिम अक्षर ‘जेड’सँग जोडेर ‘जेनेरेसन–जेड’ अर्थात् छोटकरीमा ‘जेन–जेड’ भनिन्छ । अमेरिकन इंग्लिसमा ‘जेड’लाई ‘जी’ उच्चारण गर्ने भएकाले ‘जेन–जी’ पनि भन्ने गरिन्छ । आजको दिनमा २८ देखि १३ वर्ष उमेर पुगेकाहरू यो उमेर समूहमा पर्छन् । यो पुस्ताका सबैभन्दा ज्येष्ठ समूहसमेत हुर्केर बुझ्ने हुँदासम्म सामाजिक सञ्जालको विकास भइसकेको थियो । त्यसैले उनीहरू सानैदेखि फेसबुक, युट्युबजस्ता माध्यमसँग परिचित हुँदै हुर्किए । कतिले यी माध्यममै आफ्नो नामसमेत बनाए । सूचीमा एकजना त विश्वको प्रतिष्ठित नोबेल शान्ति पुरस्कार विजेतासमेत छिन् । यहाँ सामाजिक सञ्जालदेखि विभिन्न क्षेत्रमा आफूलाई स्थापित गरेका विश्वचर्चित जेन–जी पुस्ताको परिचय दिइएको छ । 

नाओमी ओसाका, २७ वर्ष, जापान
जापानी टेनिस खेलाडी नाओमी ओसाका महिला टेनिसको पहिलो वरीयतामा पुग्ने पहिलो एसियाली हुन् । जापानी आमा र हैटियन पिताबाट जापानमा जन्मिएकी ओसाका चार वर्षकी हँुदा परिवारसँगै जापानबाट अमेरिका बसाइँ सरिन् । त्यसयता अधिकांश समय अमेरिकामा बसिरहेकी ओसाका खेलमा भने जापानको प्रतिनिधित्व गर्ने गर्छिन् । त्यसैले जापानमा आयोजना भएको पछिल्लो ओलम्पिक (२०२० टोकियो ओलम्पिक)मा ओसाकालाई ओलम्पिक सुरु भएको संकेत गर्ने गरी रंगशालामा बालिने ज्योति समारोहमा बाल्ने जिम्मेवारी दिइएको थियो । दुई ग्रान्डस्ल्याम टुर्नामेन्ट विजेता ओसाकाले सन् २०१८ मा चर्चित टेनिस खेलाडी सेरेना विलियम्सलाई हराएर युएस ओपन जितेकी थिइन् भने सन् २०१९ मा अस्ट्रेलियन ओपन जितिन् । 

खेलका अतिरिक्त ओसाकाले विभिन्न अभियानमा पनि सक्रिय हुने गरेकी छिन् । उनी विशेषतः अश्वेतप्रति प्रहरीको ज्यादती र मानसिक स्वास्थ्यप्रति जनचेतना बढाउने काममा सरिक देखिन्छिन् । 

काबी लामे, वर्ष २४, सेनेगली मूलका इटालियन
कोरोना महामारीको समयमा भाइरसको विस्तार रोक्न विश्वभर लकडाउन लगाइएको थियो । लकडाउनका कारण उद्योगधन्दा बन्द हुँदा तिनमा काम गर्ने करोडौँले रोजगारी गुमाए । त्यस्तै रोजगारी गुमाउनेमा एक थिए, सेनेगली मूलका इटालियन काबी लामे । लामेले त्यसपछिका खाली समयमा टिकटकमा रमाइलो भिडियो पोस्ट गर्न थाले । सुरुमा अरूले जस्तै उनी पनि नाचेको र भिडियो गेमसम्बन्धी भिडियो पोस्ट गर्थे । पछि उनले आमजीवनमा अरूले गाह्रोसँग गरेका कामलाई सरल तरिकाले फत्ते गरेका भिडियो राख्न थाले । लामे उनका भिडियोमा बोल्दैनन्, काम सजिलै गरेपछि हातले यसरी भन्ने भाव देखाउँछन् । त्यो लकडाउनको समय घरभित्र थुनिन पर्दा मानिसहरू धेरै समय अनलाइनमा बिताउने गरेको समय थियो । सबैजसोले टिकटक हेर्थे । उनका भिडियो इटालीभन्दा बाहिर विश्वभरका मानिसकहाँ पुग्न थाल्यो । धेरैले उनको शैली मन पराए । छिट्टै उनको टिकटक एकाउन्टले विश्वमै सबैभन्दा धेरै फलोअर्स कमायोे । लकडाउनअघि एक सामान्य श्रमिक लामे लकडाउन सकिँदासम्म विश्वभर चिनिने व्यक्तित्व बनिसकेका थिए । 

लामे अफ्रिकी देश सेनेगलमा विपन्न परिवारमा जन्मिएका थिए । उनी एकको वर्ष हुँदा उनको परिवार अवसरको खोजीमा युरोपेली मुलुक इटाली गएको थियो । अहिले उनी इटालीकै सबैभन्दा चर्चित व्यक्तिमध्येमा गनिन्छन् । टिकटकबाट बनाएको पहिचानले उनलाई विज्ञापनको दुनिया हुँदै व्यावसायिक क्षेत्रमा ल्याएको छ । उनको लोकप्रियतालाई मध्यनजर गर्दै सन् २०२२ फच्र्युन म्यागजिनले उनलाई ‘फोर्टी अन्डर फोर्टी’ र फोब्र्स म्यागजिनले ‘थर्टी अन्डर थर्टी’ सूचीमा राखेको थियो । 

मिस्टर बिस्ट, वर्ष २६, अमेरिका 
अमेरिकी नागरिक जिम्मी डोनाल्डसनलाई अहिले उनको वास्तविक नामले भन्दा ‘युट्युबर मिस्टर बिस्ट’ भनेर धेरैले चिन्छन् । युट्युबमा विभिन्न रोचक स्टन्ट गरेर र प्रतियोगीहरूलाई विभिन्न चुनौती पूरा गर्न लगाएर विजेतालाई ठुलो पुरस्कार बाँडेर चर्चामा आएका बिस्ट युट्युबमा सबैभन्दा धेरै सब्स्क्राइबर भएका ‘व्यक्तिगत’ युट्युबर हुन् । डोनाल्डसनले १३ वर्षको सानो उमेरदेखि युट्युबमा भिडियो पोस्ट गर्न सुरु गरेका थिए । सुरुमा उनका भिडियोहरू मुख्यतः भिडियो गेममा केन्द्रित थिए । सन् २०१७ मा उनले एक लाखसम्म गन्ती गरेको भिडियो भाइरल भएपछि उनी धेरैको आँखामा परे । त्यसपछि चर्चामा आउन उनले विभिन्न विज्ञान प्रयोग र स्टन्ट गरे । यस क्रममा उनले सयवटा मेगाफोन बजाएर अगाडिको सिसा फुटाउने प्रयासदेखि २४ घण्टा पानीमुनि बस्ने प्रयाससम्मका भिडियो बनाए ।


सन् २०१९ देखि उनले ठुल्ठुला पुरस्कार राशि राखेर प्रतियोगिता आयोजना गर्न थाले । उनको भिडियोको भ्युज झन् बढ्न थाल्यो । अर्को वर्ष आ–आफ्नो क्षेत्रमा नाम बनाएका ३२ इन्फ्लुयन्सर सहभागी गराए र अढाई लाख डलर पुरस्कार राशिको प्रतियोगिता आयोजना गरे । प्रतियोगिता प्रत्यक्ष प्रसारण गरिएको थियो, जुन त्यतिवेला युट्युबमा सबैभन्दा धेरै हेरिएको ‘लाइभ इभेन्ट’ बनेको थियो । लोकप्रियतासँगै उनको सब्स्क्राइबरको संख्या बढ्दै गयो । सन् २०२२ जुलाईमा युट्युबमा उनलाई सब्स्क्राइब गर्नेको संख्या १० करोड नाघ्यो । सोही वर्ष गिनिज बुक अफ वल्र्ड रेकर्डले उनलाई सबैभन्दा धेरै सब्स्क्राइबर भएको व्यक्तिगत युट्युब एकाउन्ट घोषणा ग¥यो । मिस्टर बिस्ट अहिले युट्युबबाट करोडौँ डलर कमाउँछन् । फोब्र्स म्यागजिनका अनुसार सन् २०२१ मै युट्युबबाट मिस्टर बिस्टले पाँच करोड ४० लाख डलर कमाएका थिए । लोकप्रियता र धन बढ्दै गएपछि उनले अन्य व्यवसायमा पनि हात हालेका छन् । अहिले सबै गरेर उनको सम्पत्ति ५० करोड डलर रहेको फोब्र्सले बताएको छ । 

ग्रेटा थनवबर्ग, २१ वर्ष, स्विडेन
ग्रेटा थनबर्ग जलवायु परिवर्तनविरुद्ध विश्व नेताहरूलाई कदम उठाउन दबाब दिएर चर्चामा आएकी वातावरण अभियन्ता हुन् । अहिले उनी वातावरण तथा मानव अधिकारको क्षेत्रमा बलियो आवाजको रूपमा स्थापित भएकी छिन् । थनबर्गले १५ वर्षको उमेरमै आफ्नो देश स्विडेनले पेरिस सम्झौतामा गरेका वाचा पूरा गर्ने कदम उठाउनुपर्ने भन्दै संसद्बाहिर धर्ना दिएकी थिइन् । त्यसवेला उनले स्विडेनको संसद्बाहिर जलवायु परिवर्तनको विषयमा दिएको भाषण सामाजिक सञ्जालमा भाइरल भएपछि उनको चर्चा बढ्यो ।

बढ्दो लोकप्रियतालाई उपभोग गर्दै उनले सोही वर्ष अर्थात् सन् २०१८ मा ‘जलवायुका लागि विद्यालय हडताल’ अभियान सुरु गरिन् । सुरुमा उनी एक्लै शुक्रबार विद्यालय छाडेर जलवायु परिवर्तनविरुद्ध कदम उठाउनुपर्ने माग राखेर धर्नामा बसेकी थिइन् । उनलाई सहपाठीले साथ दिए । त्यसपछि उनको विद्यालय उनको साथमा उभियो । बिस्तारै स्विडेन, युरोप हुँदै उनको अभियानले विश्वव्यापी रूप लियो । थनबर्गले जलवायु परिवर्तनसम्बन्धी विषयमा धेरै स्थानमा सम्बोधनसमेत गरिन् । उनले जलवायु परिवर्तनविरुद्ध कदम उठाउन विश्वनेता तथा नीतिनिर्माता गम्भीर नभएको आरोप लगाउँदै आएकी छिन् । यसको असर सबैभन्दा बढी आजको युवापुस्ताले भोग्नुपर्ने भएकाले तिनले पहलकदमीका लागि दबाब दिनुपर्ने उनको भनाइ छ । यही विषय उनले संयुक्त राष्ट्रसंघदेखि धेरै उच्च स्थानमा उठाइसकेकी छिन् । 

मलाला युसुफजई, २७ वर्ष, पाकिस्तान 
सन् २०१२ अक्टोबर ९ मा १५ वर्षीया मलाला युसुफजई उनको स्कुल बस चढ्न लागेकी थिइन् । मुख छोपेर बाइकमा आएका केही अज्ञात पुरुषले उनको बसनजिक आएर मलाला भनेको को हो भनेर बोलाए । उनी अगाडि बढेपछि उनीमाथि तीनपटक गोली हानियो । एउटा गोली उनको टाउकोमै लाग्यो । उनी तीन वर्षअघिदेखि अतिवादीको तारो बन्दै आएकी थिइन् । 

पाकिस्तानको खैबर पख्तुनख्वा राज्यमा पर्ने स्वात उपत्यकामा सन् २००४ देखि तालिबान समूहको प्रभाव बढ्न थालेको थियो । सन् २००७ मा सेनाले तिनलाई परास्त गर्न विशेष सैन्य अभियान नै चलाएको थियो । तर, अभियान असफल भएपछि उक्त अतिवादी इस्लामिक समूहको प्रभाव स्वात उपत्यकामा झन् बढ्यो । सन् २००९ सम्म आइपुग्दा तिनले स्वात उपत्यकाका धेरै भाग कब्जामा लिइसकेका थिए । लगत्तै तिनले आफ्नो शासन र प्रभाव भएको क्षेत्रमा महिला शिक्षामा अंकुश लगाए । साना बालबालिकादेखि महिलाहरूसम्मको विद्यालय अध्ययनमा बन्देज लाग्यो ।


यस परिप्रेक्ष्यमा, बिबिसी उर्दूले स्वात क्षेत्रको अवस्थामाथि प्रकाश पार्न एकजना युवतीको दैनिकी प्रसारण गर्ने योजना बनायो । संवाददाताहरूलाई त्यस्तो युवती खोज्न लगाइएको थियो । एक बिबिसी संवाददाताले स्वात क्षेत्रका विद्यालय शिक्षक जियाउद्दिन युसुफजईसँग सम्पर्क गरे । जियाउद्दिनले धेरै परिवारकहाँ पुगेर यस्तो काम गर्ने युवतीको खोज गरे । तर, खतराका कारण कोही पनि बिबिसीका लागि दैनिकी लेख्न राजी भएनन् । त्यसपछि जियाउद्दिनले केही सानै भए पनि आफ्नै छोरी मलालाको नाम सिफारिस गरे । कुनै विकल्प नरहेपछि बिबिसीले यिनै बालिकाको दैनिकी प्रसारण गर्न तयार भयो । सात कक्षामा पढिरहेकी मलालाको दैनिकी सन् २००९ जनवरी ३ बाट बिबिसी उर्दूमा प्रसारण हुन थाल्यो । 

सुरक्षालाई मध्यनजर गर्दै उनको नाम ‘गुल–मकै’ नाममा प्रसारण गरिएको थियो । मलाला दैनिकीमा तालिबानको कठोर शासन र विद्यालय जान नपाएको भावना समेट्थिन् । कार्यक्रम लोकप्रिय बन्यो । उता दैनिकी प्रसारण हुन थालेको केही महिनापछि नै (मे महिना) पाकिस्तानी सेनाले तालिबानविरुद्ध विशेष सैन्य अभियान सुरु ग¥यो । ठुलो संघर्ष भएकाले मलालासहित लाखौँ स्वातवासी विस्थापित भए । दुई महिना लामो सैन्य अभियानमा पाकिस्तानी सेना विजयी भयो । स्थिति सहज बनेपछि उनी घर फर्किइन् । विद्यालय पुनः खुले । धेरैको जिज्ञासा मेट्दै बिबिसीमा प्रसारण हुने दैनिकीकी वास्तविक लेखिका मलाला भएको तथ्य पनि सार्वजनिक भयो । विद्रोहीहरू कमजोर भए पनि नामेट भएका थिएनन् । उनीहरूले समय कुरेर तीन वर्षपछि मलालालाई गोली दागे । यसबिच मलाला उनको पिताको सहयोगमा नारी शिक्षाको पक्षमा थप सक्रियता साथ लाग्न थालेकी थिइन् । 

आक्रमणपछि मलालाको प्रारम्भिक उपचार पेसावरमा भयो । थप उपचारका लागि उनलाई विभिन्न समूहको सहयोगमा ६ दिनपछि बेलायत लगियो । उपचार सफल भयो । उनी बेलायतमै अध्ययन र अभियान सञ्चालनमा सक्रिय रहिन् । नारी शिक्षाको पक्षमा उनको अभियानको सम्मान गर्दै सन् २०१७ मा उनलाई नोबेल शान्ति पुरस्कारले सम्मानित गरियो । 

किलियन एम्बाप्पे, २६ वर्ष, फ्रान्स
फ्रान्सेली व्यावसायिक फुटबलर किलियन एम्बाप्पे फ्रान्सको राष्ट्रिय टोलीका कप्तान हुन् । उनी ला–लिगाअन्तर्गतको रियल म्याड्रिड क्लबबाट व्यावसायिक फुटबल खेल्छन् । विश्वका उत्कृष्ट फुटबलरमध्ये एक मानिने एम्बाप्पे उनको उत्कृष्ट ड्रिब्लिङ, स्पिड र फिनिसिङका लागि परिचित छन् । 

पेरिसमा जन्मिएका एम्बाप्पेले सन् २०१५ देखि शीर्ष टोलीबाट करिअर सुरु गरेका हुन् । करिअरको सुरुवात फ्रान्सको ‘लिग १’ बाट खेल्ने मोनाकोको फुटबल क्लब ‘एएस मोनाको’बाट गरेका थिए । दुई वर्षपछि १८ वर्षको उमेरमा उनी फ्रान्सको प्रतिष्ठित पेरिस सेन्ट–जरमेन (पिएसजी)मा अनुबन्ध भए । पिएसजीले उनको स्थानातरणका लागि १८ करोड युरो खर्चिएको थियो, जसले उनलाई विश्वको दोस्रो महँगो फुटबल खेलाडी र सबैभन्दा महँगो किशोर खेलाडी बनायो । पिएसजीमा रहँदा उनले आफ्नो क्लबलाई ६ पटक लिग कप उचाल्न सघाए । उनी रहँदा पिएसजीले अरू पनि धेरै पुरस्कार जित्न सफल भएको थियो । 

सन् २०१७ मा पिएसजीमा खेल्न थालेकै वर्ष उनी राष्ट्रिय टोलीमा पनि छनोट भए । लगत्तै अर्को वर्ष रुसमा सम्पन्न विश्वकपमा उनी फ्रान्सका सबैभन्दा कान्छा खेलाडीका रूपमा सहभागी भए । त्यस विश्वकपको फाइनलमा फ्रान्स र क्रोएसिया पुगेका थिए । उनले हानेको गोलसहित चार गोलको सहायताले फ्रान्स विजयी भयो । उनी विश्वकपको फाइनलमा गोल हान्ने पेलेपछिका दोस्रो किशोर बने । उनी सो विश्वकपका उत्कृष्ट युवा खेलाडीसमेत घोषित भए । चार वर्षपछि कतारमा आयोजना भएको फिफा विश्वकपमा उनको प्रदर्शन झन् प्रभावबाली रह्यो । यसपटक पनि फ्रान्स फाइनलमा पुगेको थियो । अर्जेन्टिनाविरुद्धको सो खेलमा एम्बाप्पेले अभूतपूर्व प्रदर्शन गर्दै एक्लै तीन गोल गरे । तथापि, खेल ३–३ को बराबरी भएर टाइब्रेकरमा पुग्यो, जसमा फ्रान्स हार्न पुग्यो । तथापि, प्रतियोगिताभर आठ गोल गरेका एम्बाप्पे गोल्डेन बल पाउन सफल भए । सन् २०२४ देखि उनी स्पेनिस क्लब रियल म्याड्रिडमा खेलिरहेका छन् । 

काइली जेनर, २७ वर्ष, अमेरिका
चर्चित सेलिबे्रटी परिवार ‘कार्दसियन–जेनर’की सदस्य काइली जेनर उनका परिवारले चलाउने रियालिटी टिभी सो ‘किपिङ अप विद द कार्दसियन्स’बाट सहभागी भएर चर्चामा आएकी हुन् । च्यानल ‘ई’मा आउने यस सोको भारी सफलताबाट हासिल पहिचानलाई उपभोग गर्ने योजना बनाइन् । उनले दिदी केन्डल जेनरसँग मिलेर फेसन तथा कस्मेटिक क्षेत्रमा प्रवेश गरिन् । १४ वर्षको उमेरमा सन् २०१२ मा जेनरले दिदी केन्डल र पहिरन ब्रान्ड प्याकसनसँग मिलेर ‘केन्डल एन्ड काइली’ क्लोथिङ लाइन खोलिन् । पछि सन् २०१५ मा उनले एकल रूपमा ‘काइली कस्मेटिक’ स्थापना गरिन् । उनको यो फेसन व्यवसाय सोचेभन्दा बढी सफल साबित भयो । यही व्यवसायको बलमा उनी सन् २०१८ मा २१ वर्षको उमेरमा विश्वको सबैभन्दा कम उमेरकी अर्बपति बन्न सफल भइन् । फेसन उद्योगमा काइलीको चर्चा सबैभन्दा प्रभावशाली सेलिब्रेटीका रूपमा छिन् । उनी सामाजिक सञ्जालमा पनि निकै प्रभावशाली छिन् । इन्स्टाग्राममा उनी सबैभन्दा धेरै फलोअर हुने पाँचौँ व्यक्ति हुन् ।