मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २२ बिहीबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २२ बिहीबार o८:५५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

‘हनी ट्रयापिङ’मा इन्स्पेक्टर र एसपी जोडिएपछि सिआइबीलाई अनुसन्धानको जिम्मा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २२ बिहीबार o८:५५:oo

ललितपुरको बुङमती (भैँसेपाटी) प्रभागमा प्रहरीकै मिलेमतोमा व्यापारीलाई ‘हनी ट्रयापिङ’मा फसाइएको घटनाको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई दिइएको छ । यसअघि जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गर्दै आएकोमा बुधबार पक्राउ परेका अभियुक्त र अनुसन्धान प्रतिवेदन सिआइबीमा बुझाइएको छ । 

एसएसपी शेखर खनाल, प्रमुख, ललितपुर प्रहरी
यसमा प्रहरीका सिनियर अफिसर पनि जोडिएको र अनुसन्धानमा अन्य जिल्लाको क्षेत्राधिकार पनि देखिएपछि सिआइबीमा सिफारिस गरेका हौँ

घटना संगठित प्रकृतिको भएको, अन्यत्र पनि सोही शैलीको अपराध भएको र यसमा प्रहरीका अधिकृत नै मुछिएपछि सिआइबीबाट अनुसन्धान हुन लागेको हो । सो घटनामा प्रहरी प्रभाग बुङमतीकी तत्कालीन इन्स्पेक्टर बिनुकुमारी शाहीको संलग्नता देखिएकोमा उनी फरार छिन् भने एसपी कमल थापाको समेत ‘कनेक्सन’ देखिएपछि अनुसन्धान अघि बढेको थियो । 

तर, अनुसन्धानमा अनेक दबाब आएपछि ललितपुर प्रहरीले अनुसन्धानका लागि सिआइबीमा पठाएको प्रहरी स्रोत बताउँछ । ललितपुर प्रहरीका प्रमुख एसएसपी शेखर खनालले घटना संगठित प्रकृतिको भएको र अन्य जिल्लाको घटना पनि जोडिएकाले पक्राउ परेका अभियुक्तसहित अनुसन्धान प्रतिवेदन सिआइबीमा बुझाइएको बताए । ‘यसमा प्रहरीका सिनियर अफिसर पनि जोडिए, अनुसन्धानमा अन्य जिल्लाको क्षेत्राधिकार पनि देखिएपछि सिआइबीमा सिफारिस गरेका हौँ,’ उनले भने । सोही समूहले गत जेठमा प्रहरी वृत्त दरबारमार्गमा पनि यसैगरी एक व्यवसायीलाई फसाएर १७ लाख रुपैयाँ असुलेको अनुसन्धानमा खुलिसकेको छ । 

ललितपुरको बुङमती प्रभागमा सो समूहले गत ७ असोजमा एक व्यवसायीलाई पक्राउ गरेको थियो । कुटपिटको सामान्य उजुरीमा पक्राउ गरेकोमा बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख दिन लगाएर मिलापत्र गरिएको थियो, जसमा प्रहरीले समेत डेढ लाख रुपैयाँ लिएको थियो । घटनामा प्रभागका प्रहरी हवल्दार महेन्द्र नेपाल, हनी ट्रयापिङ गिरोहका नाइके ताज इस्लामसहित सुष्मा विक र भीमादेवी थापालाई प्रहरीले थुनामा राखी संगठित अपराध र आपराधिक लाभ मुद्दामा अनुसन्धान गरिरहेको छ । बुङमती प्रभागकी तत्कालीन प्रमुख रहेकी इन्स्पेक्टर बिनुकुमारी शाहीको समेत सो घटनामा संलग्नता देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तर, उनलाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन । 

इन्स्पेक्टर र गिरोहबिच कमल थापाले भेटघाट गराइदिएको अनुसन्धानमा खुलेपछि एसपीको समेत बयान लिन जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले प्रहरीलाई निर्देशन दिएको छ । तर, दुई साता हुँदा पनि ललितपुर प्रहरीले बयान लिन सकेको थिएन । एसपी थापाले शक्तिकेन्द्रमार्फत आफूमाथिको अनुसन्धान लुकाउने प्रयास गरिरहेका छन् । जबकि दरबारमार्गमा पनि एक ठेकेदारलाई फसाएको घटनामा उनको संलग्नता देखिएको छ ।

साथै, अर्का एक व्यक्तिलाई लागुऔषध मुद्दामा फसाउने तयारी भइरहेकोसमेत पत्ता लागेको छ । अब तीनै घटनाको अनुसन्धान सिआइबीबाट हुने भएको छ । फरार रहेकी इन्स्पेक्टर शाहीले छानबिनमा संलग्न डिएसपीलगायतमाथि आफूलाई दुव्र्यवहार गरेको भनेर उजुरी दिएकाले पनि सिआइबीमार्फत अनुसन्धान गर्न लागिएको स्रोतले बतायो ।