पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए)मा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको चीनको सिचुवान एयरलाइन्सले १७ महिनापछि पुनः दोस्रो उडान गर्ने भएको छ । विमानस्थल सञ्चालनमा आएको १७२औँ दिनमा (६ असार ०८० मा) सिचुवानले पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । चीनको छेन्दु विमानस्थलबाट आएको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमानले चार्टर्ड उडानमार्फत पोखरामा अवतरण गरेको थियो ।
१७ महिनापछि कुनमिङ विमानस्थलबाट आउने एयर बस ३१९ विमान बिहीबार दिउँसो १४:४० मा पोखरामा अवतरण गर्नेछ । सो विमान दिउँसो १६:१५ बजे काठमाडौंका लागि उड्ने विमानस्थलकी सूचना अधिकारी जसोदा सुवेदीले जानकारी दिइन् ।
नेपाल र चीनबिचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यसहित २४ कात्तिकमा पोखरामा हुने तेस्रो संस्करणको ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता’मा सहभागी हुन आउने चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्तिहरू चार्टर्ड उडानमार्फत पोखरा आउन लागेका हुन् । प्रतियोगिताका आयोजकमध्येको एक हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्व शंकर पालिखेले विमानबाट एक सय ३४ जना यात्रु पोखरा आउने जानकारी दिए । प्रतियोगितामा नेपाल र चीनका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने उनको भनाइ छ । यसअघि ८ र ९ असार ०८० मा पोखराको फेवातालमा सम्पन्न दक्षिण एसियामै पहिलोपटक नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ मा सहभागी हुन चिनियाँ टोली आएका थिए । यो नै पोखरामा भएको पहिलो अन्तर्राष्ट्रिय उडान हो ।
१७ पुसमा ०७९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको विमानस्थल ११ फागुन ०८० मा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि तयार भएको थियो । १८ फागुन ०७९ देखि रात्रिकालीन उडान सुरु भएको विमानस्थलमा चार्टर्ड उडान भए पनि नियमित अन्तर्राष्ट्रिय उडान कहिलेबाट हुन्छ भन्नेमा हालसम्म कुनै अत्तोपत्तो छैन ।
२२ महिनामा पाँच चार्टर्ड र एक व्यावसायिक उडान
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २२ महिना पोखरामा चारपटक गरी पाँच चार्टर्ड र एक व्यावसायिक उडान भएका छन् । ६ असार ०८० मा सिचुवानले पोखरामा चार्टर्ड उडानमार्फत पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो ।
त्यसपछि विमानस्थल सञ्चालनमा आएको आठ महिना सात दिन अर्थात् २३ भदौ ०८० मा भुटानको ‘ड्रुक एयर’ले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानसँगै पोखराबाट पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भरेको थियो । पोखराबाट भएको यो पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले करिब तीन लाख आम्दानी गरेको थियो ।
२२ कात्तिक ०८० मा चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो विमानले पोखरामा क्रमशः तेस्रो र चौथो चार्टर्ड उडान गरेका थिए । यसैगरी, ७ मंसिर ०८० मा चीनको कुनमिङ सहरबाट हिमालय एयरलाइन्सले पोखरामा चार्टर्ड उडान गरेको थियो ।