१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २१ बुधबार
  • Wednesday, 06 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २१ बुधबार १o:१६:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकी राष्ट्रपतीय निर्वाचन : ह्यारिसको प्रचार खर्च ८८ करोड डलर, ट्रम्पको ३५ करोड डलर

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवारले पैसाको खोलो बगाए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २१ बुधबार १o:१६:oo

अमेरिकाकाे अघिल्ला राष्ट्रपतीय निर्वाचनमा जस्तै यसपटकको निर्वाचनमा पनि राष्ट्रपति पदका उम्मेदवारले पैसाको खोलो बगाएका छन् । चुनावी अभियानका क्रममा खर्च गर्नेमा डेमोक्य्राटिक पार्टी र उसका उम्मेदवार धेरै अगाडि देखिएका छन् ।

निर्वाचन अभियानमा खर्च गर्ने मामिलामा डेमोक्य्राटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा दोब्बर बढीले अगाडि रहिन् । उनले आफ्नो चुनावी अभियानका क्रममा ८८ करोड १० लाख ५८ हजार डलर खर्च गरेकी थिइन् । जबकि उनका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले केवल ३५ करोड ५७ लाख ३४ हजार डलर मात्रै खर्च गरेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । 

फेडरल इलेक्सन कमिसन अफ अमेरिकाका अनुसार यो राष्ट्रपतीय निर्वाचनमा विभिन्न उम्मेदवारले कुल दुई अर्ब ४२ करोड ४५ लाख ७५ हजार डलर खर्च गरे । डेमोक्य्राटिक पार्टीले सबैभन्दा धेरै एक अर्ब ७८ करोड ६७ लाखभन्दा बढी खर्च गरेको छ ।

यो निर्वाचनमा बिचमै राष्ट्रपतीय निर्वाचनको दौड परित्याग गरेका वर्तमान राष्ट्रपति जो बाइडेनले पनि ८९ करोड सात लाख ७९ हजार डलर खर्चिए । लोकप्रियताको ग्राफ घट्न थालेपछि ट्रम्पको आगमन रोक्न उनले बिचैमा उम्मेदारीको दौड परित्याग गरेर कमला ह्यारिसलाई समर्थन गरेका थिए । 

चन्दा प्राप्त गर्नेमा पनि डेमोक्य्राटिक पार्टीकै अग्रता रह्यो । डेमोक्य्राटिक पार्टीले दुई अर्ब दुई करोड २२ लाख ७१ हजार डलरभन्दा बढी चन्दा प्राप्त गरेको थियो । चन्दा प्राप्त गर्नमा पनि रिपब्लिकन पार्टी निकै पछाडि देखियो ।

उसले डेमोक्य्राटिक पार्टीको भन्दा तेब्बरभन्दा पनि कम मात्रै चन्दा प्राप्त गरेको थियो । यो पार्टीले केवल ६३ करोड ३८ लाख ३६ हजार डलर चन्दा प्राप्त गरेको थियो । चुनावी खर्च पनि डेमोक्य्राटिक पार्टीलेभन्दा निकै कम, केवल ५६ करोड सात लाख ९२ हजार डलर मात्रै गरेको थियो । कमला ह्यारिसलाई कुल ९९ करोड ७९ लाख ५० हजार डलर चन्दा प्राप्त भएको थियो भने ट्रम्पले ३९ करोड १९ लाख ४९ हजार डलर हाराहारी मात्रै प्राप्त गरेका थिए । 

अघिल्लो निर्वाचनमा पनि डेमोक्य्राटिककै खर्च बढी
सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पनि डेमोक्य्राटिक पार्टी चन्दा प्राप्त गर्ने र खर्च गर्ने मामिलामा रिपब्लिकन पार्टीभन्दा धेरै अगाडि थियो । सो निर्वाचनमा डेमोक्य्राटिक पार्टीका तर्फबाट राष्ट्रपतिको पदको उम्मेदवार बन्न अर्बपति माइकल ब्लुमवर्गले पैसाको खोलो नै बगाएका थिए । उनले प्राइमरीका लागि मात्रै एक अर्ब १२ करोड ४५ लाख डलर खर्च गरेका थिए ।

तर, फजुल खर्च र महिलाको शोषणजस्ता विवादले घेरिएर अलोकप्रिय बन्न थालेपछि उनले बिचमै अभियान परित्याग गरेका थिए । डेमोक्य्राटिक पार्टीका उम्मेदवार जो बाइडेनले एक अर्ब सात करोड ३९ लाख डलर खर्च गरेका थिए । डेमोक्य्राटिक पार्टीले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा कुल तीन अर्ब १५ करोड ५० लाख डलरभन्दा बढी खर्च गरेको थियो,

जबकि रिपब्लिकनले ८२ करोड ८६ लाख ७८ हजार मात्रै खर्च गर्न सकेको थियो, जसमध्ये ट्रम्पको निर्वाचन अभियानका लागि ८० करोड ८७ लाख ५६ हजार डलर खर्च भएको आयोगको विवरणले देखाउँछ ।