अर्बौं बालबालिकालाई असर गर्ने हिंसाले समाजको स्वास्थ्य, समृद्धि र स्थायित्वलाई कमजोर बनाउने हेक्का राख्नु आवश्यक छ
हरेक दिन विश्वभर दसौँ लाख बालबालिकाले आफ्नो घर, समुदाय, विद्यालय र द्वन्द्व प्रभावित क्षेत्रमा हिंसा व्यहोर्छन् । यस्तो अवस्था नहुनुपर्ने हो । प्रत्येक बालबालिकालाई विश्वमा बाँच्ने अधिकार छ, जहाँ उनीहरू सम्मानित, सुरक्षित र निश्चिन्त रहून् । र, यसलाई वास्तविकता बनाउनु हाम्रो दायित्व हो । बालबालिकाविरुद्धको हिंसा अन्त्य गर्ने पहिलो विश्वव्यापी मन्त्रीस्तरीय सम्मेलनको सह–आयोजकका रूपमा हामी विश्वनेतालाई पहलकदमी लिन आग्रह गर्छौं । हामी विश्व नेताहरूलाई यो दिगो विकास लक्ष्य हासिल गर्नु एक फगत आकांक्षा मात्र होइन, प्राप्य पनि छ भन्ने विश्वाससाथ पहलकदमी लिन आग्रह गर्छौं । एजेन्डा २०३० मार्फत विश्वनेता त्यस्तो संसार सिर्जना गर्न प्रतिबद्ध छन्, जसमा हरेक बालबालिका हिंसाबाट मुक्त भई हुर्कियून् । बालअधिकारसम्बन्धी संयुक्त राष्ट्र संघको महासन्धिले सरकारहरूले बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने पहिलो विश्वव्यापी लक्ष्य तय गरेको छ । जबसम्म हामीले द्रुत गतिमा प्रगति गर्दैनौँ, हामी यी लक्ष्यमा पुग्न असफल हुनेछौँ र विश्वका बालबालिकालाई असफल बनाउनेछौँ ।
प्रत्येक वर्ष विश्वका आधाभन्दा बढी बालबालिका हिंसाको सिकार भइरहेका छन्, अर्थात् एक अर्बभन्दा बढी बालबालिका हिंसाको सिकार भइरहेका छन् । यो तथ्यांकले हाम्रा सबैभन्दा जोखिममा रहेका नागरिकलाई जोगाउनमा देखिएको हाम्रो सामूहिक असफलतालाई संकेत गर्छ । बालबालिकाविरुद्ध हुने हिंसा धेरै रूपमा प्रकट हुन्छ । यो तथ्यांक घर वा विद्यालयमा हातपातका रूपमा प्रकट हुन्छ । बालबालिकाले विश्वसनीय वृत्तमा आफन्तबाट दुव्र्यवहार व्यहोर्छन् । युद्धबाट गोली र बमको चपेटामा पनि बालबालिका पर्छन् । र, यो उपेक्षाको चक्रमा अनलाइन दुव्र्यवहार पनि पर्छ ।
बालबालिकाले व्यहोर्ने हिंसाको परिणाम जीवनकालमा मात्रै नभई पुस्तौँसम्म देखिन्छ । बाल्यकालमा हिंसाको अनुभव र मानसिक रोग, शारीरिक रोग र सामाजिक समस्याका उच्च जोखिमबिच नाटकीय सम्बन्ध छ । घरमा हुने हिंसाबाट प्रभावित बालबालिका अनलाइनलगायतका हिंसा र शोषणका प्रायः सबै अन्य प्रकारबाट हुने हिंसाबाट असुरक्षित हुन्छन् ।
आज एक अर्ब बालबालिकालाई असर गर्ने हिंसाले भोलि हाम्रो समाजको स्वास्थ्य, समृद्धि र स्थायित्वलाई कमजोर बनाउँछ भन्नेबारे हेक्का राख्नु आवश्यक छ । यो हिंसाले बालबालिकाको शिक्षा, मानसिक र शारीरिक स्वास्थ्यमा गरिएको हरेक लगानीलाई नष्ट गर्दै विनाशकारी सामाजिक र आर्थिक क्षति निम्त्याउँछ । प्रत्येक वर्ष एकभन्दा बढी बालबालिकाले भोग्ने हिंसालाई लिएर कुनै उल्लेखनीय काम नगरी दिगो विकास लक्ष्य हासिल गर्ने उपाय छैन ।
यद्यपि बालबालिकाविरुद्धको हिंसा निराकरणका उपाय हामीलाई जानकारी हुनु एक सुसमाचार हो । हामी बालबालिकाविरुद्ध हुने हिंसा रोक्ने उपायबारे बुझ्ने पहिलो पुस्ता हौँ । पहलकदमी लिनु हाम्रो दायित्व हो । यसमा सकारात्मक अभिभावकत्व प्रवद्र्धन गर्नु र पारिवारिक हिंसाको चक्र तोड्नु समावेश छ । यसको अर्थ विद्यालयमा सुरक्षित सिकाइको वातावरण सुनिश्चित गर्नु र उच्च जोखिममा रहेका बालबालिकालाई सुरक्षित राख्न अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई तयार गर्नु पनि हो ।
यो महत्वपूर्ण छ किनभने जब सिद्ध रणनीति प्रभावकारी रूपमा लागू हुन्छन्, तिनले काम गर्छन् । सबै क्षेत्र र आयस्तरका देशले बालबालिकाविरुद्ध हुने हिंसामा उल्लेखनीय र दिगो कमी हासिल गरेका छन्, अर्थात् छोटोदेखि मध्यम अवधिमा ५० प्रतिशतसम्म कमी हासिल गरेका छन् । हिंसाले निम्त्याएको आघातलाई सम्बोधन गर्नुभन्दा दीर्घकालीन रोकथाम अधिक प्रभावकारी र सुलभ छ । यद्यपि हरेक बालबालिकालाई सुरक्षित राख्ने अवसरको प्रयोग र जिम्मेवारी पूरा गर्न सकिएको छैन । प्रगति असंगत देखिन्छ, किनभने राजनीतिक प्रतिक्रियाले बालबालिकाविरुद्ध हुने चुनौतीको स्तरसँग मेल खाएको देखिँदैन । अहिले हामीसँग रूपान्तरणकारी परिवर्तनका लागि अवसर छ ।
यो साता कोलम्बिया र स्विडेनका सरकारले बालबालिकाविरुद्धको हिंसा अन्त्य गर्ने पहिलो विश्वव्यापी मन्त्रीस्तरीय सम्मेलन आयोजना गर्दै छन् । आयोजक सरकार विश्व स्वास्थ्य संगठन, युनिसेफ र बालबालिकाविरुद्धको हिंसाबारे राष्ट्र संघका महासचिवका विशेष प्रतिनिधिसँग साझेदारी गर्दै छन् । यो सम्मेलन कोलम्बियाको बोगोटामा हुनेछ । यो ऐतिहासिक सम्मेलनमा एक सय ३० भन्दा बढी सरकार, ९० मन्त्री र बालबालिका, युवा, हिंसाबाट प्रताडित बालबालिका, प्राज्ञ र परोपकारी सहयोगी रूपान्तरणकारी परिवर्तनका लागि भेला हुनेछन् ।
यो हरेक वर्ष हिंसाबाट प्रभावित अर्बौं बालबालिकाका लागि निर्णायक कदम चाल्ने समय हो । हामीले प्रमाणमा आधारित समाधान कोष निर्माण गर्नुपर्छ र कार्यान्वयनलाई प्राथमिकता दिनुपर्छ । हामीले बालबालिका सुरक्षित छन् भन्ने प्रत्याभूति गर्नुपर्छ । घर, समुदाय, विद्यालय र अनलाइनमा देखिने बालबालिका र हिंसाका सिकार भएका प्रत्येक बालबालिकाले आफूलाई आवश्यक पर्ने सहायता सेवामा पहुँच गर्न सक्छन् भन्ने सुनिश्चित गर्नुपर्छ । यस सन्दर्भमा नेल्सन मन्डेलाले २० वर्षअघि बालबालिकाविरुद्धको हिंसासम्बन्धी पहिलो प्रतिवेदन सार्वजनिक गर्ने क्रममा ‘सुरक्षा र निश्चिन्ततता त्यसै सम्भव हुँदैन, यो सामूहिक सहमति र लगानीको परिणाम हो’ भनेका थिए । प्रत्येक बालबालिका सुरक्षित छन् भनेर सुनिश्चित गर्नेबारे र हाम्रो भविष्यमा लगानी गर्नेबारे निर्णय गर्नु धेरै अर्थमा सबैभन्दा सजिलो काम हो । तर, यसका लागि नेतृत्व आवश्यक छ, जसले चुनौतीको सामना गर्ने साहस राख्छ । यो साताको सम्मेलन हरेक सरकारले बालबालिकालाई हिंसाबाट जोगाउनु आफ्नो प्राथमिकता हो भन्ने कुरा पुष्टि गर्ने क्षण हो ।
(घेब्रियेसस विश्व स्वास्थ्य संगठनका महानिर्देशक, रसेल युनिसेफकी कार्यकारी निर्देशक र मजिद बालबालिकाविरुद्धको हिंसामा संयुक्त राष्ट्रका महासचिवका विशेष प्रतिनिधि हुन्)
अल जजिराबाट