१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २१ बुधबार
  • Wednesday, 06 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २१ बुधबार १४:३o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्यटन मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय पुरस्कारमा कांग्रेससम्बद्ध सांस्कृतिक महासंघको सिफारिस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २१ बुधबार १४:३o:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने पुरस्कारहरू निकटस्थलाई प्रदान गर्न कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक महासंघले सिफारिस गरेको छ।

विभिन्न क्षेत्र तथा विधामा योगदान पुर्‍याएका व्यक्ति तथा संस्थालाई पुरस्कार प्रदान गर्न मन्त्रालयले गत १३ भदौमा गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो। सूचनाबमोजिम पुरस्कारका लागि व्यक्ति नै छनोट गरेर महासंघले सिफारिस गरेको हो।

मन्त्रालयले बिपी कोइराला राष्ट्रिय प्रतिभा पुरस्कार, शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कारका लागि सूचना निकालेको थियो। राजनीतिक दर्शन, साहित्य, भाषा, संस्कृति, इतिहास र अन्तर्गतका विधाहरूमा योगदान पुर्‍याएकालाई पुरस्कार प्रदान गर्ने सूचनामा उल्लेख छ।

मन्त्रालयद्वारा प्रकाशित सूचना

३० दिनको समयसीमा तोकेर १३ भदौमा मन्त्रालयले सूचना प्रकाशन गरेकामा महासंघले १० असोजमा सिफारिस पठाएको छ। महासंघको लेटरहेडमा अध्यक्ष तीर्थबहादुर थापाले पुरस्कारको सिफारिस गरेका छन्।

पर्यटन मन्त्रालयमा अहिले कांग्रेसका बद्रीप्रसाद पाण्डे मन्त्री छन्। कांग्रेसको नेतृत्व रहेको मन्त्रालयमा दलसम्बद्ध संस्थाले नै पुरस्कारका लागि सिफारिस गर्दा यसले विवाद सिर्जना गरेको छ। यद्यपि, पुरस्कारको सूचनामा पुरस्कारका लागि प्राप्त हुने सिफारिस वा विवरणपत्र चयन समितिको प्रयोजनका लागि सीमित रहने र सिफारिस वा विवरणपत्रबाहेक पुरस्कार चयन समितिले योगदानका आधारमासमेत मूल्यांकन गर्न सक्ने उल्लेख छ।

महासंघका अध्यक्ष सिफारिस गर्ने कुरा स्वाभाविक भएको थापाले बताए। सिफारिस गरिएका व्यक्तिहरू संगठनमै आबद्ध रहेको पनि उनले बताए। ‘उहाँहरू सबै योगदान गरेका व्यक्ति हुनुहुन्छ । कोही पनि कमजोर हुनुहुन्न। सबै योग्य नै हुनुहुन्छ,’ उनले भने, ‘यद्यपि, हामीले भनेको मान्नुपर्छ भन्ने छैन । मन्त्रालयको पनि मापदण्ड छ, अरू व्यक्तिको पनि आवेदन आएको होला । जसो भए पनि योग्यले पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामीले हामीसँग पनि योग्य साथीहरू हुनुहुन्छ भनेर भनेको मात्र हो।’