१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २१ बुधबार
  • Wednesday, 06 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २१ बुधबार १४:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कात्तिकयता डेंगु संक्रमण घट्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २१ बुधबार १४:o३:oo

नेपालमा डेंगु  संक्रमण घट्दै गएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेंगु सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता संक्रमण घट्दै गएको बताए । 

सरकारले डेंगुको संक्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पतालपरिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ । उनका  अनुसार अहिले नेपालमा ४२औँ हप्ताबाट डेंगु संक्रमण  घट्न थालेको हो । नेपालमा अहिले डेंगु संक्रमणको ४५औँ हप्ता चलिरहेको छ ।  

डा. दाहालले ४२औँ हप्तामा मात्रै दुई हजार पाँच सय ८२, ४३औँ हप्तामा दुई हजार दुई सय चार, ४४औँ हप्तामा एक हजार ७१ र ४५औँ हप्ता चलिरहँदा ५५ जनामा मात्र संक्रमण देखिएको जानकारी दिए। ‘जाडो बढेसँगै डेंगु संक्रमण घटिरहेको छ,’ उनले भने, ‘४५ हप्तामा आइपुग्दा फाट्टफुट्ट मात्र देखिन थालेका छन् । संक्रमण घटे पनि सावधानी अपनाउनुपर्छ ।’ 

अहिलेसम्म २९ हजार १५८ मा संक्रमण भएको भन्दै १२ जनाको निधन भएको कीटजन्य रोग शाखाका प्रमुख डा. दाहालले जानकारी दिए । उनका अनुसार डेंगु  संक्रमण हुम्लाबाहेक सबै जिल्लामा देखिएको छ । 

सबैभन्दा बढी कास्कीमा सात हजार २२४ जनामा डेंगु संक्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ । 

उपत्यकामा ६ हजारभन्दा बढीमा संक्रमण

उपत्यकामा ६ हजार ६१२ जनामा डेंगु संक्रमण देखिएको छ । काठमाडौंमा चार हजार ५९५, भक्तपुरमा ८३१ र ललितपुरमा एक हजार १८६ जनामा डेंगु संक्रमण देखिएको हो ।