अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको संख्या झन्डै दोब्बर हुने प्रक्षेपण गरेको छ।
अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो।
युनिभर्सिटी अफ क्विन्सल्यान्डका हब्तामु बिजुआयेहुको नेतृत्वमा अनुसन्धानकर्ताहरूले १८५ देशका ३६ प्रकारका क्यान्सरका बिरामी र मृत्युदरको विश्लेषण गरी सन् २०५० को संयुक्त राष्ट्रसंघको जनसंख्या पूर्वानुमानमा यो दर लागू गरेर भविष्यका क्यान्सरका बिरामी र मृत्युको प्रक्षेपण गरेका थिए।
सन् २०२२ मा दुई करोड व्यक्तिमा क्यान्सर भएकामा सन् २०५० मा तीन करोड ५३ लाख पुग्ने अनुमान गरिएको छ।
संयुक्त राष्ट्रसंघको मानव विकास सूचकांक (एचडिआई)मा कम वरीयता भएका देशहरूमा सन् २०५० सम्ममा क्यान्सरका बिरामी र मृत्युदर तीन गुणाले बढ्ने अनुमान गरिएको छ।
सन् २०५० मा क्यान्सरबाट हुने मृत्युको प्रमुख कारणमा फोक्सोको क्यान्सर रहने अनुमान गरिएको छ, जुन सन् २०२२ मा १८.७ प्रतिशत रहेको थियो।
सन् २०२२ देखि २०५० को बिचमा महिलाको तुलनामा पुरुषमा क्यान्सरका बिरामी र मृत्यु हुनेको संख्या केही बढी हुने अध्ययनले देखाएको छ।