हायात होटेल्स कर्पोरेसनले नेपालमा आफ्नो ब्रान्ड विस्तारलाई तीव्रता दिन थालेको छ । हायातले गोल्यान ग्रुपको लगानी रहेको बेदा हस्पिटालिटी प्राइभेट लिमिटेडले लुम्बिनीमा सञ्चालनमा ल्याउन लागेको हायात रेजेन्सी लुम्बिनीसँग सम्झौता गरेको छ ।
यो सम्झौतासँगै ‘हायात रेजेन्सी लुम्बिनी’ नेपालमा हायात होटेल्स कर्पोरेसनको चौथो हायात ब्रान्ड बनेको छ । कुल एक सय ७५ कोठा रहेको यो होटेल गोल्यान समूहअन्तर्गतको दोस्रो होटेलका रूपमा सञ्चालनमा रहनेछ । यसअघि काठमाडौं सोल्टिमोडमा हायात प्यालेस होटेल हायातको होटेल चेनसँग आबद्ध रही सञ्चालनमा रहेको छ ।
हायात रेजेन्सी लुम्बिनी सन् २०२८ सम्ममा पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी गोल्यान ग्रुपले निर्माण कार्यलाई तीव्रता दिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा तथा बुटवल सहर र नेपाल भारत सीमाको नजिक रहने भएकाले विश्वभरका व्यावसायिक र मनोरञ्जनका यात्रुहरूलाई सहज रूपमा पहुँच पुर्याउनका निम्ति महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । हायात रेजेन्सी होटेल एन्ड रिसोर्टस् मानव समुदायका भावनालाई एकैसाथ प्रोत्साहित गर्ने गरी डिजाइन गरिएका छन् । आगामी दिनमा नेपालमा स्थापित हुने हायात ब्रान्डका होटेलहरू आधुनिक डिजाइन र परम्परागत नेपालीपनको मिश्रणसहितका हुने गोल्यान ग्रुपको भनाइ छ ।
‘हायातसँगको हाम्रो सहकार्यलाई लुम्बिनीमा पहिलो हायात रेजेन्सी ब्रान्डको होटेलको उद्घाटन गर्न पाउँदा अत्यन्तै खुुसी छौँ,’ गोल्यान ग्रुपका व्यवस्थापकीय निर्देशक अक्षय गोल्यानले भने, ‘गोल्यान हायात रेजेन्सी लुम्बिनीको हाम्रो रणनीति विश्वस्तरीय गन्तव्य सिर्जना गर्नु हो ।’