गत वर्ष १६ हजार क्विन्टल धान खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष एक लाखको लक्ष्य बनायो
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले हालसम्म चार हजार पाँच सय क्विन्टल धान खरिद गरेको छ । यस सिजनमा एक लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।
सरकारले निर्धारण गरेको समर्थन मूल्यमा कम्पनीले किसानबाट धान खरिद गरिरहेको छ । हरेक वर्ष विभिन्न पालिकाबाट धान खरिद गर्दै आएको कम्पनीका मुख्य शाखा प्रमुख केशवराज बुढाले बताए । गत वर्ष १६ हजार क्विन्टल मात्र धान खरिद गरेको बताउँदै यस वर्ष दीपावलीभन्दा अगावै धान खरिद सुरु गरिएको हुनाले लक्ष्यअनुसार धान खरिद हुने उनको भनाइ छ ।
सरकारले आर्थिक वर्ष ०८१/८२ का लागि मोटा धानको प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ८० रुपैयाँ मूल्य निर्धारण गरेको छ । गत वर्ष मध्यम धानको प्रतिक्विन्टल तीन हजार ६२ र मोटा धानको तीन हजार एक सय ९८ रुपैयाँ निर्धारण गरेको थियो । यस वर्ष गत वर्षको तुलनामा धानको समर्थन मूल्य वृद्धि भएको छ । कम्पनीले धान खरिदका लागि धानको गुणस्तर पनि तोकेको छ । धान सफा र राम्रो हुनुका साथै धानको मोइस्चर १८ प्रतिशत, अपरिपक्व दाना ५ प्रतिशत र बाह्य पदार्थ २ प्रतिशतभन्दा बढी हुन नहुने गरी तोकिएको छ ।
यस वर्ष धान खरिदका लागि कार्यालयपरिसर, गेरुवा गाउँपालिकाको शान्तिबजार र मनाउँ, राजापुर नगरपालिकाको बालाबजार र मानपुर टपरामा धान खरिद केन्द्र राख्ने योजना रहेको प्रमुख बुढाले बताए । गत वर्ष बारबर्दिया नगरपालिकामा समेत धान खरिद केन्द्र राखेको थियो । स्थानीय तहले माग गरेमा अरू पालिकामा समेत अस्थायी धान खरिद केन्द्र राख्न सकिने उनको भनाइ छ । यस वर्ष सहकारीमार्फत पनि धान खरिद गर्ने भनी केन्द्रले पत्राचार गरेको हुनाले केही समयमा सहकारीबाट समेत धान खरिद गर्न सकिने उनले बताए ।
व्यापारीले सस्तो मूल्यमा किसानबाट धान खरिद गर्दा मारमा पर्ने भएकाले किसानलाई राहत दिनका लागि सरकारले समर्थन मूल्य निर्धारण गर्ने गर्छ । गत वर्ष समयमा खरिद प्रक्रिया अगाडि नबढ्दा धान नपाउँदा लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुर कार्यालयले धान खरिद सुरु नगर्दासम्म राजापुरका किसानहरूले तीन हजार रुपैयाँ प्रतिक्विन्टलका दरले धान बिक्रि गर्न बाध्य थिए । हाल राजापुरमा स्थानीय व्यापारीहरूले मोटा धान नै तीन हजार तीन सयभन्दा बढी मूल्यमा खरिद गरिरहेका छन् ।