१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २२ बिहीबार
  • Thursday, 07 November, 2024
२o८१ कार्तिक २२ बिहीबार १२:२५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिरोका कारण हुप्सेकोट पिपलडाँडामा सिंगो गाउँ र विद्यालय जोखिममा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २२ बिहीबार १२:२५:oo

नवलपुरको हुप्सेकोट गाउँपालिका– ६ पिपलडाँडामा रहेको सिंगो गाउँ पहिरोको जोखिममा रहेको छ । यहाँ रहेकाे ५० घरभन्दा बढीकाे गाउँ र गाउँसँगै रहेको शान्ति आधारभूत विद्यालय पनि पहिरोको जोखिममा परेको छ ।

नवलपुरको हुप्सेकोट– ६ पिपलडाँडा गाउँछेउ पहिरो खस्न थालेको ५० वर्षभन्दा बढी भयो । पहिला सामान्य र सानो लाग्ने पहिरो अहिले हेर्दाहेर्दै निकै ठुलो र डरलाग्दो भएको छ । जसका कारण यहाँका ५० भन्दा बढी घर र गाउँमै रहेको शान्ति आधारभूत विद्यालय पहिरोको जोखिममा परेको हाे । 

उमेरले ५० कटिसकेका यहाँका बासिन्दा कर्मसिंह सोती मगरले आफूलाई याद भएदेखि सानैदेखि पहिरो गएको बताए । पहिला सानोसानो पहिरो गए पनि अहिले हरेक वर्ष ठुलो पहिरो खस्ने गरेको सोतीले बताए ।

उनका अनुसार विकासको नाममा बाटो आए पनि सिंगो गाउँ नै विस्थापित गराउने गरी आएको पहिरो रोक्न कसैले ध्यान दिएका छैनन् । पालिका र वडा कार्यालयमा पटकपटक हारगुहार गर्दा पनि सुनुवाइ नभएको उनले सुनाए ।   

वर्षामा कुन वेला पहिरोले गाउँ र विद्यालय लैजाने हो भन्ने त्रासमा गाउँले बाँचिरहेका छन् । हुप्सेकोट आधारभूत विद्यालयकी शिक्षिका दयाकुमारी रानाले हिउँदमा भन्दा वर्षायाममा अत्यधिक त्रास हुने गरेको बताइन् । डर र  त्रासबिच पढाउनुपरेको शिक्षिका रानाले बताइन् ।

हुप्सेकोट– ६ पिपलडाँडा गाउँमै जन्मेर यहीँ विवाह गरी आफ्नो जीवनका चार दशक बिताइसकेकी खगिसरा सिँजाली मगरले पनि यस्तै अनुभव सुनाइन् । पहिला सानो भएको पहिरो अहिले बर्सेनि ठूलो हुँदै गएको छ । तीन–चार  वर्षअघि पहिरो रोक्न लगाएको बिरुवा पनि पहिरोले लगेको खगिसराले बताइन् । खगिसराका अनुसार सबै पैसा भएका तराई, मधेशतिर झर्न थालेका छन्, तर पैसा नहुनेहरू गाउँमा रुँदै डर र त्रासमा बाँच्न बाध्य छन्।

नवलपुर जिल्लामा वर्षाको वेला सिंगो गाउँ पहिरोले विस्थापित भएका थुप्रै घटनाहरू छन् । विपत् नआउँदासम्म सामान्य मान्ने र आइसकेपछि पछुताउनुभन्दा यहाँको सिंगो गाउँलाई अन्यत्र सार्न वा पहिरो रोक्नतर्फ लाग्नु आवश्यक देखिएकाे स्थानीयकाे भनाइ छ ।