१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २२ बिहीबार
  • Thursday, 07 November, 2024
तिवारी यादव विरगञ्ज
२o८१ कार्तिक २२ बिहीबार १५:o८:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

छठघाटमा व्रतालुहरू पुग्न थाले (फोटोफिचर)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २२ बिहीबार १५:o८:oo

 छठपूजाको मुख्य दिन आज छठघाटमा व्रतालुहरू पुग्न थालेका छन् । घाटमा पुगेका व्रतालुहरू अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइनेछ ।  चार दिनसम्म मनाइने छठपूजाको बिहीबार साँझमा अर्घ्य दिने विशेष दिन हो । व्रतालुसहित परिवारका सदस्यहरू घरनजिकको पोखरी, नदी, जलाशयमा निर्मित छठीघाट पुग्ने गर्दछन् ।

छठपूजाको मुख्य दिन वीरगन्ज महानगरभित्र मात्रै दर्जनभन्दा धेरै स्थानमा रहेका छठघाटलाई ‘दुलही’जस्तै सिँगारिएको छ । घडिअर्वा पोखरी, नगवा पोखरी, मुर्ली पोखरी, रानीघाट, रामगढवा, जगरनाथपुर, पटेलनगर, परवानीपुरलगायत छठघाटमा  रौनक बेग्लै देखिएको छ । यहाँ जिल्लाकै सबैभन्दा बढी खर्च गरेर सजावट गरिँदै आइएको छ । यहाँका सर्वसाधारणले आफ्नो घरदैलो नजिकै रहेको पोखरी तथा छठघाटमा गएर छठ पूजाअर्चना गर्ने परम्परा रहकाले ‘दुलही’जस्तै सजाउने गरेका छन् । 

तराई–मधेशका महिलाले छठपूजा गर्नाले आफ्नो परिवार र सन्ततिको सुख समृद्धिको कामना गर्दै मनाउने गरिन्छ । यस वर्ष छठ पर्वको मुख्य दिन यही बिहीबार २२ गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठ पर्व विशेषगरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।

नयाँ–नयाँ वस्त्र लगाएर व्रतालुले बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा नरिवल, भिजाएको केराउ, पातसहितको मुलालगायतका फलफूल र प्रसाद राखेर अर्घ्य दिने गरेका छन् । अर्घपछि केही व्रतालु घर फर्केर आँगनमा कोसी भर्ने विधि गर्छन्  । 

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएको भोलिपल्ट शुक्रबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपूजा विधिवत् रूपमा सम्पन्न हुन्छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्रै व्रतालुले व्रत तोड्ने गरेका छन् । छठपूजा गर्ने व्रतालुले कठोर व्रत गर्ने गरेका छन् । छठको पहिलो दिन नहाई खाइपछि दोस्रो दिन खरना विधिअन्तर्गत स्याउ र रोटी खाएका व्रतालुले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिनुअघि निराहार व्रत गर्ने गरेका छन् । व्रतालुहरूले यो पर्वमा करिब ३६ घण्टासम्म पानीसमेत पिउँदैनन् । छठपूजा गर्दा पुत्र प्राप्ति, घरपरिवारमा सुखशान्ति, समृद्धि, चर्मरोगबाट, दु:खकष्टबाट मुक्तिलगायत फल पाउने जनविश्वास रहेको छ ।