सुनसरी हरिनगर गाउँपालिका– २ का भटाई मरिक दुईजनाको सहारामा दुई दिनमा एउटा बाँसको ढाकी बनाउँछन्। उनलाई बाँसको कोनिया बनाउन एक दिन मात्र लाग्छ।
बिहानै हातमा खुकुरी लिएर घरबाट निस्कने भटाई छठ पर्वका वेलामा बाँसका सामग्री बनाएर वर्षभरिलाई खान र घरखर्च चलाउन रकम जुटाउने गर्छन्। यस वर्ष भने सोचेजस्तो बाँसका सामग्री बिक्री नभएको उनको गुनासो छ। भटाईले गर्त वर्ष छठका वेलामा १५० वटा कोनिया र १२५ वटा ढकीया बिक्री गरेका थिए।
यस वर्ष उनले ५० देखि एक सयसम्म कोनिया र ९० वटा ढकीया बिक्री भएको बताए। उनीजस्तै हरिनगर– २ का विन्देश्वर मरिकले छठ पर्वका वेला बाँसका सामग्री बनाएर साहु तथा यजमानबाट लिएको ऋण तिर्ने सोचेका थिए। वर्षभरि घर खर्च जेनतेन चलाउने मरिक समुदायका अधिकांशले चाडपर्वलाई खर्च जुटाउने अवसरका रूपमा लिने गरेका छन्।
सोचेअनुसारको बिक्री नहुँदा आम्दानी घटेको विन्देश्वरले बताए। आधुनिकताको विकाससँगै बजारमा आएका प्लास्टिकका सामग्रीको प्रयोग बढेसँगै बाँसका सामग्री बिक्री हुन छोडेका उनको भनाइ छ। यसले गर्दा जीविकोपार्जनमा समस्या भएको गीता मरिकले बताइन्।
बिहानै बाँस काटनुका साथै आवश्यकताअनुसार फोड्ने, काट्ने र सामग्री निर्माण गर्ने गरिएको भन्दै बनाइएको सामग्री बिक्री नहुँदा आर्थिक अभाव सिर्जना हुने गीताको भनाइ छ।
बर्सेनि छठ पर्व मनाउनको संख्या बढ्दै गए पनि बाँसका सामग्रीको कारोबारमा कमी आएको मरिक समुदायका व्यक्तिले बताएका छन्। अहिले बजारमा पित्तलका कोनिया, ढाकी पाउनुका साथै प्लास्टिकबाट निर्मित नाङ्लाेलगायत सामग्री पाउन थालेकाले बाँसका सामग्री बिक्री हुन छोडेका चन्दन मरिकले बताए।
लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठमा विगतका वर्षमा बाँसबाट निर्मित सामग्रीको प्रयोग बढी हुने गरेकामा पछिल्ला केही वर्षयता आधुनिक प्लास्टिकका सामग्रीको प्रयोगले मरिक समुदायको पुर्ख्यौली पेसा संकटमा परेको विन्देश्वरले बताए।
मरिक समुदायको पुर्ख्यौली पेसाका रूपमा रहेको बाँसका सामग्री बनाउने कामलाई संरक्षण गर्नुका साथै बजारीकरणमा स्थानीय तह तथा सरोकार भएका निकायले सहयोग गर्नुपर्ने मरिक समुदयका अगुवाको भनाइ छ।