१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २२ बिहीबार
  • Thursday, 07 November, 2024
रासस सिड्नी
२o८१ कार्तिक २२ बिहीबार १४:५२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

१६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धित गर्दै अस्ट्रेलिया

Read Time : < 1 मिनेट
रासस, सिड्नी
नयाँ पत्रिका
२o८१ कार्तिक २२ बिहीबार १४:५२:oo

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालले बालबालिकामा हानि गरिरहेको बताउँदै १६ वर्षमुनिका बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन्।

प्राविधिक विज्ञहरूलाई उमेरको सीमा लागू गर्ने जम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री अल्बानिजले नियमहरूको उल्लंघन गरेमा जरिवानाको सामना गर्नुपर्ने उल्लेख गरेका छन् ।

अस्ट्रेलिया सामाजिक सञ्जालको नकारात्मक प्रभाव नियन्त्रणको प्रयास गर्ने अग्रणी राष्ट्र हो। प्रधानमन्त्री अल्बानिजले प्रस्तावित उमेर बालबालिकाका लागि सबैभन्दा महत्त्वपूर्ण र आमा–बाबासँग समय बिताउनुपर्ने उमेर भएको प्रस्ट पारेका छन्।

नोभेम्बरको अन्त्यमा संसदमा पेस हुनुअघि यो कानुन यस हप्ता राज्य र क्षेत्रका नेतासमक्ष प्रस्तुत गरिनेछ। कानुन पारित भएपछि कार्यान्वयनका लागि एक वर्षको अवधि दिइनेछ। यसको प्रभावकारी कार्यान्वयनका लागि आमाबाबु तथा युवाहरू जिम्मेवार हुने बताइएको छ।

फेसबुक र इन्स्टाग्राम सञ्चालन गरेको मेटा कम्पनीले सरकारले पेस गर्न चाहेको जुनसुकै उमेर सीमालाई सम्मान गर्ने जनाएको छ। अस्ट्रेलियाले प्रतिबन्ध लागू गर्दा सावधानीपूर्वक सोच्नुपर्ने मेटाका सुरक्षा प्रमुख एन्टिगोन डेभिसले बताए।   

हेर्न नचाहेका अनावश्यक सामग्रीहरू सामाजिक सञ्जालको प्रणालीमा देखापर्ने भएकाले नियन्त्रण गर्नुपरेको अल्बानिजले बताएका छन्। यसैगरी, सञ्चारमन्त्री मिसेल रोल्यान्डले सामाजिक सञ्जाल सञ्चालन गरेका कम्पनीहरूमा बारम्बार जिम्मेवारीको ‘कमी’ देखिइरहेको बताएकी छिन्।  

रोल्यान्डले इन्स्टाग्राम, फेसबुक, टिकटक र एक्सजस्ता नेटवर्क तथा कम्पनीहरूले निर्धारित कानुनको उल्लंघन गरेमा आर्थिक दण्डको सामना गर्नुपर्ने बताइन्। फ्रान्सले यसअघि नै सन् २०२३ मा कानुन पारित गरी सामाजिक सञ्जाल प्रयोगकर्ताको उमेर  कम्तीमा १५ वर्ष हुनुपर्ने व्यवस्था गरेको थियो।