चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन सञ्चालनमा आएको छ। रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेँसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारणलाइनलाई बुधबार साँझ ७ः०५ बजेबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
यसैगरी, चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबार नै चार्ज गरिएको छ। उक्त सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिएका दुईवटा बैंक गरी ३२० एमभिए र १३२/३३ केभीतर्फ, ५० एमभिए क्षमताका पावर ट्रान्सफर्महरू रहेका छन्। आयोजनाअन्तर्गतकै त्रिशूली थ्री बी हब २२० केभी क्षमताको सबस्टेसन यसअघि नै सञ्चालनमा थियो।
त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइनले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ।
अनुमानित लागत तीन अर्ब ६२ करोड ८९ लाख रुपैयाँ रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू)को अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (इआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ।
नेपाल विद्युत् प्राधिकरण उच्च भोल्टेज ग्रिड विभागका निर्देशक थर्कबहादुर थापाले प्रसारणलाइन र सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेकाले त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् जुनसुकैवेला जोड्न सकिने बताए।
चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइनमा तत्काल चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी, ४२.५ मेगावाटको तल्लो साञ्जेन र १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडिनेछ।
रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । दसैँ र तिहारको सार्वजनिक बिदामा समेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटी प्रसारणलाइन निर्माण सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ।
२८ किलोमिटर लामो प्रसारणलाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन्। प्रसारणलाइन समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको थियो । आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरेको छ । हेलिकोप्टरबाट समेत निर्माण सामाग्री ढुवानी गरी टावर निर्माण गरिएको थियो।
उत्तरगया गाउँपालिका–१ तिरुबाट सोही वडाको सिरुचेतसम्म एक हजार २३५ मिटर लम्बाइमा तार तानिएको छ । मैलुङखोलामाथि पर्ने उक्त खण्ड (मैलुङ क्रसिङ)मा ड्रोनको प्रयोग गरी तार तानिएको थियो। प्रसारणलाइनअन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म आठ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ। कोरियन कम्पनीहरूको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् जोड्नका लागि मल्टिसर्किट लाइन बनाउन लागिएको हो। माथिल्लो त्रिशूली–१ ले मल्टिसर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम व्यहोर्नेछ।
प्रसारणलाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो।