स्नातक तहको चारवर्षे कार्यक्रम पुनः तीन वर्षमा झार्ने त्रिभुवन विश्वविद्यालयको योजना अन्योलमा परेको छ । उपकुलपति प्राडा केशरजंग बरालले गत ११ फागुनमा नियुक्ति भएलगत्तै प्राथमिकतामा राखेको उक्त योजनामाथि हालसम्म गृहकार्यसमेत सुरु भएको छैन ।
शिक्षाविद् र सरोकारवालाले तीनवर्षे कोर्सलाई चारवर्षे बनाएर विद्यार्थीमाथि बोझ थपेको बताउँदै आएका थिए । उनीहरूले स्नातकलाई तीन वर्षकै बनाउँदा ड्रपआउट घट्ने र विद्यार्थीको आकर्षण बढ्ने दाबीसमेत गर्दै आएका थिए । उपकुलपति प्राडा बरालले पनि यस विषयलाई प्राथमिकतामा राखेका थिए । तर, त्रिविका रजिस्ट्रार, रेक्टर र डिनहरू सकारात्मक नदेखिँदा गृहकार्यमा समस्या देखिएको छ । ‘तीन वर्षमै झार्नेबारे काम सुरु भइसकेको छैन, मैले नीतिमा चाहिँ समेटेको विषय हो, हाल केही संकायमा नयाँ डिन आउन बाँकी छ,’ उपकुलपति प्रा.डा. बरालले भने, ‘डिनहरू आइसकेपछि मात्रै यसमा गृहकार्य सुरु हुन्छ ।’ उनका अनुसार पाँच संकाय (चिकित्सा शिक्षा, इन्जिनियरिङ, कृषि तथा पशु विज्ञान, मानविकी तथा सामाजिकशास्त्र र शिक्षाशास्त्र)मादुई महिनादेखि डिनको कार्यकाल सकिएको छ । कार्यकाल सकिएका संकायमा डिन नियुक्तिका लागि छनोट समितिले काम गरिरहेको छ ।
सरकारले शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन संकायका विषयलाई ०७१/७२ देखि चारवर्षे बनाएको थियो । चारवर्षे कार्यक्रमका कारण ‘ड्रपआउट’ बढिरहेको उपकुलपति प्राडा बरालको ठम्याइ छ ।हाल त्रिविको शिक्षाशास्त्र, मानविकी र व्यवस्थापनतर्फको स्नातक कार्यक्रममा विद्यार्थी संख्या घटेको र ‘ड्रपआउट’ बढेको तथ्यांकले देखाएको छ ।
२२ साउन०८० मा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन चित्रकुमार बुढाथोकी र मानविकी संकाय प्रमुख कुसुम शाक्यले पहिले तीन वर्षमै रहेको स्नातक तहका केही संकायलाई पुरानै अवस्थामा ल्याउनुपर्ने माग राख्दै प्रस्ताव पेस नै गरेका थिए ।
शिक्षाविद् विद्यानाथ कोइरालाले पनि यी कार्यक्रमलाई तीन वर्षमै राख्दा उत्तम हुने बताउँदै आएका छन् । ‘त्रिविले वर्षभन्दा पनि क्रेडिट आवरतर्फ बढी ध्यान दिनुपर्छ, तोकिएको समयमा विद्यार्थीले के–कति विषय जान्यो र अध्ययन गर्यो भन्ने ठुलो हो,’ उनले भने, ‘धेरै वर्षपढाएर बुझ्यो भन्ने होइन, यस्तो कारणले झन्विद्यार्थीलाई जागिरको समस्या हुन्छ ।’
सरकारले विश्व बैंक, शिक्षाविद्लगायतको सुझावअनुसार तीन वर्षमा सीमित केही संकायलाई चारवर्षे बनाएको थियो । शिक्षाशास्त्रमा ०७२, मानविकीमा ०७४, बिबिएसमा ०७३ देखि चारवर्षे नियम लागू भएको थियो । सरकारले तीनवर्षे कोर्सलाई चारवर्षे बनाउन ०७१ मै नयाँ कोर्स तयारसमेत पारेर अभ्यासमा लगेको थियो ।
तीनवर्षे कार्यक्रमलाई चारवर्षे पुर्याइएपछि विद्यार्थीमा पनि अलमल बढेको छ । यस्तै बिचमै पढाइ छाड्ने विद्यार्थी पनि बढ्दो देखिन्छन् । तथ्यांकअनुसार त्रिविका आंगिक क्याम्पसमा शिक्षाशास्त्र संकाय बिएड प्रथम वर्षमा भर्ना हुने विद्यार्थी औसत ६५ हजार हुने भए पनि चौथो वर्षमा पुग्दा १९–२० हजारमा सीमित हुने गरेका छन् । चौथो वर्षपुग्दा आधाभन्दा बढी विद्यार्थीले पढाइ छाड्छन् । यसको एउटा कारण तीनवर्षे कार्यक्रमलाई चार वर्षमा लैजानु पनि रहेको शिक्षाविद्हरूको दाबी छ ।
मानविकी संकायतर्फ ०७९ मा प्रथम वर्षमा १२ हजार हाराहारी विद्यार्थी थिए भने तेस्रो वर्ष ०८१ मा आइपुग्दाआठ हजार पाँच सय विद्यार्थी मात्रै अध्ययनरत छन् । बिबिएसतर्फ ०७९ मा एक लाख ११ हजार ६८० विद्यार्थी प्रथम वर्षमा अध्ययनरत थिए भने ०८१ मा तेस्रो वर्षमा ५९ हजार ४०३ विद्यार्थी छन् ।
त्रिविका रजिस्ट्रार प्राडा केदार रिजालले विदेशी स्ट्यान्डर्ड र मान्यतालाई आत्मसात गर्ने हो भने चारवर्षेलाई तीनवर्षेमा झार्दा समस्या हुने बताए । ‘चारवर्षे बनाइएका संकायलाई तीन वर्षमा झार्न कठिन छ, किनभने अध्ययन अनुसन्धान गरेरै लागू गरिएको हो, तत्काल तीन वर्षमा झार्न कठिन हुन्छ,’ उनले भने ।