राजनीतिक शक्तिलाई स्थायी बनाइराख्न हिन्दु, मुसलमान, इसाई, सिख वा अन्य धर्मका मानिस महिलाको शरीरका मामिलामा एकै ठाउँमा छन्
इस्लामिक आजाद विश्वविद्यालय तेहरानकी एक इरानी छात्राले ‘अनुचित ढंगले हिजाब’ लगाएको भन्दै नैतिकता पुलिसबाट उत्पीडन व्यहोरेकी थिइन् । सो उत्पीडनका कारण क्रुद्ध भएकी युवतीले भित्री वस्त्र मात्रै रहने गरी लुगा फुकालेर विरोध जनाइन् । केशलाई खुला छोड्दै हात बाँधेर अर्धनग्न अवस्थामा विश्वविद्यालयपरिसरमा हिँड्दै उनले महिलाको शरीरमाथि नियन्त्रण र पहरेदारी गर्ने इरानी सत्ताको अवज्ञा गरेकी थिइन् ।
आखिर कट्टर धार्मिक संहिता पालना गर्ने नैतिक व्यक्तिलाई महिलाको खुला केश किन खतरनाक लाग्यो ? वा भनौँ, दशकौँसम्म स्थिर रहेर तपस्या गर्ने विवेकशील वृद्ध तपस्वी अप्सरा देख्दा श्राप दिने गरी किन सजिलै विचलित हुन्थे ? पितृसत्ता महिलाको शरीरदेखि यतिविधि किन आतंकित भएको हो ? राजनीतिक शक्तिलाई स्थायी बनाउन धर्मको प्रयोग गर्ने हिन्दु, मुसलमान, इसाई, सिख वा अन्य धर्मका मानिस किन महिलाको शरीरका मामिलामा एकै ठाउँमा छन् ? यसको सहज उत्तर हो सबै धर्मले पितृसत्तालाई संरक्षण गर्छन् ।
धर्मका ठेकेदार महिलाको सुरक्षा आफैँले गर्ने गरेको दाबी गर्छन् । तर, यिनले सुरक्षाका लागि कुनै वास्तविक काम भने गरेका छैनन् । बरु भय मात्रै बढाएका छन् । यसका पछाडिको निहित मनसाय भनेको महिलालाई थप कडा लक्ष्मण रेखा भएको पिँजडामा कैद गर्नु हो । जति धेरै कैद गर्न सकियो, त्यति नै भयको धारणा बढाउन सकिन्छ । यस्तो किसिमको कैदले धार्मिक कट्टरपन्थीलाई आनन्दित बनाउँछ । आफ्नो घृणाले भरिएका अभिव्यक्तिलाई सांस्कृतिक–धार्मिक अनुशासनको कलेवरमा सजाएर जुन धार्मिक गुरुले महिलालाई बढी नियन्त्रण गर्ने औचित्यलाई पुष्टि गर्छ, तिनले तुरुन्तै वाहवाही र समर्थन पाउँछन् । महिलाले पुरुषसमान काम गर्न सकिरहेका अवस्थामा उत्पीडकका लागि धार्मिक एवं सांस्कृतिक भाष्य प्रयोग गरेर महिलाको शरीर र स्वतन्त्रतालाई कैद गर्ने सबैभन्दा सजिलो उपाय हो । यो भाष्य एक गम्भीर विरोधाभासलाई दबाउन प्रयोग गरिन्छ । यदि महिला पूर्णतया सुरक्षित, समान र स्वतन्त्र हुन्छन्, अर्थात् महिलाले प्रेम गर्न, विवाह गर्न, लुगा लगाउन र इच्छाअनुसार बच्चा जन्माउन सक्छन् भने पितृसत्ताका अगुवाका लागि आफ्नो पुरुषत्व प्रदर्शन गर्ने कुनै ठाउँ बाँकी रहँदैन ।
पञ्जाब विश्वविद्यालय चण्डीगढमा सन् १९८९–९० मा म विद्यार्थी हुँदा छात्रामाथि लागू गरिएको पोसाक संहिताबारे अहिले पनि सम्झिन्छु । हरमन्दर साहिब (स्वर्ण मन्दिर) बाट खालिस्तानी चरमपन्थीलाई ‘निस्तेनाबुत’ गरेको पाँच वर्षपछि हाम्रो जीवन्त क्याम्पसमा ती चरमपन्थीले ठाउँ पाएका थिए । निलो पगडी लगाएका र छातीसम्म लामो दाह्री पुगेका पुरुषको समूह बुलेट मोटरसाइकलमा घुम्दै महिलाले यस्ता–यस्ता किसिमका पोसाक मात्र लगाउन पाउँछन् भनेर उर्दी जारी गर्थे । क्याम्पसका भित्ता र होस्टेलका गेटमा पञ्जाबी भाषामा केटीले एक्लै बस्न पाउनेछैनन् वा केटासँग घुम्न पाउनेछैनन्, स्कर्ट र लिपस्टिक लगाउन पाउनेछैनन्, कपाल खुला छोड्न पाउनेछैनन् र टाउको एवं छाती छोप्नुपर्नेछ भन्ने व्यहोराका निर्देशन पोतिएका हुन्थे ।
पहिले धेरैजसो छात्रा दुपट्टा मात्रै लगाउँथे तर यी उर्दीपछि महिलाले आफ्नो टाउको र अनुहार छोप्न थाले । होस्टेलमा नबस्ने छात्रा परिवारको निरीक्षणका कारण उर्दी मान्न बाध्य थिएनन् र सुरक्षित पनि थिए । हामी होस्टेलका छात्रा वास्तविक तारो बनेका थियौँ र हामी कक्षामा पढ्न जाँदा सधैँजसो उत्पीडन व्यहोथ्र्यौं । छात्रालाई चरमपन्थी प्रवर्तनकर्ताले रोकेको, थप्पड हानेको र अन्य ढंगले अपमानित गरेको धेरै घटना हुने गर्थे । र, यी घटनाको निन्दा गर्नु र रोक्नुको साटो हाम्रो सुरक्षाको जिम्मेवारी लिनुपर्ने प्रशासनका अधिकारी ‘अब यी हिरोइन पल्टिने केटीलाई तह लगाइनेछ’ भन्दै मुस्कुराउँथे ।
विभिन्न समाचारले होस्टेलका वार्डेनलाई (संरक्षक) उद्धृत गर्दै ‘छात्रालाई तह लगाएर यी चरमपन्थीले कम्तीमा राम्रो गरिरहेका छन्’ भन्ने भनाइ प्रकाशित गर्थे । क्याम्पसका प्रमुख सुरक्षा अधिकारी ‘केटीहरू हातबाट बाहिर निस्किरहेका छन्’ भन्दै छात्रामाथिको पहरेदारीलाई समर्थन गर्थे । पत्रपत्रिकाले ‘हाम्रो उद्देश्य पञ्जाबको संस्कृतिलाई कलंकित गर्ने यी केटीलाई पाठ सिकाउनु हो’ भन्नेजस्ता चरमपन्थी नेताका भनाइलाई प्रकाशित गर्दै उर्दी अनुपालन गर्न आग्रह गर्थे । महिलाको सुरक्षा सुनिश्चित गर्न नसकेका वार्डेन, प्राध्यापक र प्रहरीले चरमपन्थी पोसाक संहितालाई सुविधाजनक समाधानका रूपमा हेरेका थिए ।
विश्वव्यापी रूपमा कट्टरपन्थी स्वतन्त्र महिलाको शरीरलाई लिएर गम्भीर रूपमा भयग्रस्त छन् । एउटी महिलाको लुगा लगाउने, विवाह गर्ने वा नगर्ने, बच्चा जन्माउने वा नजन्माउने स्वतन्त्रताले यी कट्टरपन्थीसामु गम्भीर खतराको प्रतिनिधित्व गर्छ । पोसाक, विवाह, जन्म नियन्त्रण वा गर्भपतनमा पहुँचजस्ता व्यक्तिगत छनोटलाई स्वच्छन्द रूपमा महिलाले लागू गर्दा स्थायी राजनीतिक शक्तिमा कट्टरपन्थीको प्रभुत्व र पहिचानलाई चुनौती दिन्छ ।
धार्मिक उत्पीडकले वास्तवमा पुरानो पितृसत्तात्मक भयलाई पुनर्जीवित गर्दै महिलाको सुरक्षाको दाबी गर्ने गर्छन् । यी उत्पीडक सामाजिक र वैवाहिक शक्तिबारे महिलाले के गर्न सक्छन् वा के गर्न सक्दैनन् भन्ने निर्धारण गर्न चाहन्छन् । यिनले यसलाई कानुन, ‘नैतिक’ निर्णय, वा महिलाका सुरक्षाका लागि हो भन्ने जोड दिएर लागू गर्न खोज्छन् । यो प्रायः सबै धर्म, संस्कृति वा समाजमा देखिने गर्छ । यी धार्मिक उत्पीडकले जति धेरै नियन्त्रण प्राप्त गर्छन्, त्यति नै यिनलाई सत्ताको उपल्लो सोपानमा कायम राखिराख्ने प्रतिगामी सामाजिक व्यवस्थाको पकड बलियो हुन्छ ।
(तिवारी लेखक एवं अनुवादक हुन्) द वायरबाट