सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबारदेखि आधिकारिक रूपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचीकरण भएको छ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिकाबमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ। निर्देशिकाको दफा ३ को उपदफा ४ मा अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाले अनुसूची १ मा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था छ।
मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले टिकटक सूचीकरणको निर्णय गरेको थियो। दसैँ, तिहार पर्वका कारण केही ढिला भएको उल्लेख गर्दै मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव ममता बाँस्तोलाले मंगलबार टिकटक प्लेटफर्म विधिवत रूपमा सूचीकरण गरिएको जानकारी दिइन्।
सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाअन्तर्गत नेपालभित्र सञ्चालित अन्य सामाजिक सञ्जाललाई समेत यथाशीघ्र सूचीकरण गराउन मन्त्रालयले विज्ञप्ति जारी गरेको छ।
साथै, हालसम्म टिकटकसँगै भाइबर र ‘वी टक’लगायतका सामाजिक सञ्जाल प्लेटफर्म मन्त्रालयमा सूचीकरण भइसकेका छन्। ‘अरू सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा छन्,’ उपसचिव बाँस्तोलाले भनिन्, ‘सकेसम्म सबैलाई समयमै व्यवस्थित गर्ने मन्त्रालयको प्रयास रहन्छ।’