कांग्रेस–एमालेले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार सञ्चालनमा समन्वय गर्न दुईदलीय राजनीतिक संयन्त्र बनाएका छन्। प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको दुईदलीय राजनीतिक संयन्त्रमा दुवै दलबाट आठसदस्यीय कार्यदल पनि बनाइएको छ।
बैठक र समन्वयका लागि संयन्त्रको हरेक महिना आलोपालो हुने गरी पहिलो नेतृत्व कांग्रेसले लिएको छ। पहिलो महिना २१ कात्तिकदेखि २० मंसिरसम्म कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले कार्यदलको संयोजन गर्नेछन्।
उपसभापति खड्काले सातबुँदे सहमतिबमोजिम गठन भएको अहिलेको सरकारको कामलाई प्रभावकारी र सफल बनाउन केन्द्रदेखि जिल्ला तहसम्म समन्वय गर्ने काम दुईदलीय संयन्त्रले गर्ने बताए। ‘सातबुँदे सहमतिअनुसार बनेको अहिलेको सरकारको कामलाई प्रभावकारी र सफल बनाउन समन्वय गर्नका लागि दुई दलको संयन्त्र बनाइएको हो,’ खड्काले भने, ‘आपसी समन्वयमा आवश्यकताअनुसार बेला-बेलामा बैठक बसेर संयन्त्रले सरकारी कामको समन्वय र समस्या समाधानमा केन्द्रित रहेर छलफल गर्नेछ।’ उनका अनुसार प्रदेश र जिल्ला तहमा पनि दुईदलीय राजनीतिक संयन्त्र बन्नेछ। जसअनुसार प्रदेश र जिल्ला दुवैतर्फको संयन्त्रको नेतृत्व सम्बन्धित कमिटीको दुवै पार्टीका प्रमुखहरूले केन्द्रकै मोडलअनुसार आलोपालो गरेर गर्नेछन्।
संयन्त्रको कार्यदलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा छन्। त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिव विष्णु रिमाल छन्।
मंगलबार बसेको संयन्त्र कार्यदलको पहिलो बैठकले निम्न निर्णय गरेको छ।
१. कार्यदलको संयोजन दुई दलले एक–एक महिना पालै पालो गर्ने। पहिलो महिना (२१ कात्तिकदेखि २० मंसिरसम्म) कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यदलको बैठकको संयोजन गर्ने।
२. चिनियाँ प्रधानमन्त्री ली छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने प्रधानमन्त्री केपी ओलीको चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने। दुई नेताको निर्देशनअनुरुप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्ने।