हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अभिनेतृ स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ को रूपमा भित्र्याएको छ। कर्णाली याक्सले बुधबार नक्सालस्थित हिल्टन होटेलमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को लागि खड्कालाई आवद्ध गरेको जनाएको हो।
सो क्रममा खड्काले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताइन्। ‘अहिले खेलकुदको माध्यमबाट हरेक राष्ट्रले आफूलाई चिनाउँदै गएका छन्। नेपालले पनि क्रिकेटमार्फत प्रभाव बढाउँदै लगेको,’ उनले भनिन्, ‘कर्णाली याक्सले नेपाली क्रिकेटलाई विश्वमाँझ पुर्याउने योजना ल्याएको छ। यही योजनालाई सार्थक पार्न कर्णाली याक्ससँग जोडिन पुगेकी हुँ।’
खड्काले नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारी फ्रान्समा खेलिरहेको र उनकै प्रभावले पनि खेलकुदमा लाग्न प्रेरित गरेको प्रसंग सुनाएकी थिइन्। ‘नेपालकी स्ट्राइकर साबित्रा भण्डारी फ्रान्समा व्यावसायिक फुटबल खेलिरहनुभएको छ। उहाँले पनि फ्रान्समा नेपाल र नेपालीलाई चिनाउनुभएको छ। त्यसैले पनि खेलकुदले मलाई प्रभावित पार्यो।’
उनले श्रीमान् निश्चल बस्नेत पनि कर्णाली प्रदेशकै भएकाले कर्णाली याक्ससँग जोडिन सहज भएको जानकारी गराइन्।
कार्यक्रममा कर्णाली याक्सका मालिक जनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, मुख्य प्रशिक्षक तथा टिम निर्देशक ज्ञानेन्द्र मल्लको उपस्थिति थियो।
प्रशिक्षक मल्लले कलाकार क्रिकेटमा जोडिनु सुखद् सन्देश रहेको र क्रिकेट विकासमा टेवा पुग्ने विश्वास गरे। कार्यक्रमबाटै कर्णाली याक्सको आफ्नो गीत सार्वजनिक गरेको छ। गीतमा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनालको स्वर, संगीत र शब्द छ।
कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी छन्। प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीका राष्ट्रिय टोलीका गुल्सन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ। त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन्।
कर्णाली याक्सले वेस्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ। थप खेलाडी चाँडै सार्वजनिक गरिने सहमालिक गृहेन्द्र घिमिरेले जानकारी दिए।
प्रतियोगिताकै लागि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटेल हिल्टनसँग सम्झौता गरिसकेको छ। प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म हुनेछ।