१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २१ बुधबार
  • Wednesday, 06 November, 2024
रासस काठमाडौं
२o८१ कार्तिक २१ बुधबार १८:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विश्व बैंकको सहयोगका पाँच आयोजनाको तयारी फास्ट ट्र्याकमा गरिने

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २१ बुधबार १८:२५:oo

विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब रु. ७२ अर्बबराबरका पाँचवटा आयोजनाको तयारी ‘फास्ट ट्र्याक’मा गरिने भएको छ।

अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्वतयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो।

यसैगरी, तेस्रो चरणको रानी-जमरा-कुलरिया सिँचाइ र पहुँच तथा उत्थानशीलताका लागि डिजिटल सेवा रूपान्तरणसम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्र्याकमा गर्ने निर्णय भएको छ। विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालन हुने आयोजनाको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी पूर्वतयारी गर्नेछन् भने आवश्यकतानुसार अर्थ मन्त्रालयले सहजीकरण गर्नेछ।

बैठकले सन् २०२५ को फेब्रुअरीसम्ममा आयोजनासँग सम्बन्धित सबै विषयको टुंगो लगाई पूर्वतयारीका काम सक्ने निर्णय गरेको छ। तयारी पूरा भएपछि सन् २०२५ को मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्ताव पेस गरिने योजना छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाको पूर्वतयारीमा विशेष ध्यान दिन र आयोजनाहरू स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न निर्देशन दिए। उनले नेपालले आफ्नो आवश्यकताअनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने बताए। 

बैठकमा अर्थ मन्त्रालय, भौतिक तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि र सम्बद्ध पदाधिकारीको उपस्थिति थियो।