१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २१ बुधबार
  • Wednesday, 06 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २१ बुधबार २o:१७:oo
Read Time : > 1 मिनेट
खेलकुद

पोखरा एभेन्जर्सका मेन्टर जोन्टी रोड्स पोखरामा, भोलि फेवातालबाट बाइक र्‍याली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २१ बुधबार २o:१७:oo


दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा पुगेका छन्। एनपिएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्समा तीन वर्षको सम्झौतासहित आबद्ध भएका जोन्टी बुधबार दिउँसो काठमाडौं ओर्लिएर सीधैँ पोखरा पुगेका हुन्। 

पोखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठका अनुसार जोन्टी र टिमका अध्यक्ष सुबोध त्रिपाठीसहितको टोली पनि पोखरा पुगेका छन्। पोखरामा प्रशंसकहरूले उनको भव्य स्वागत गरेका थिए।

टिमका लागि समर्थन जुटाउन बिहीबार गण्डकी क्रिकेट, कास्की क्रिकेट, पोखरा बाइकर्स ग्रुप, रोटरी क्लब अफ लेखनाथलगायत नौवटा  संघसंस्थाले संयुक्त रूपमा पोखरामा आयोजना गर्ने ‘राइड विथ जोन्टी रोड्स’ कार्यक्रममा सहभागिता जनाउन उनी पोखरा आइपुगेका हुन्। फेवातालस्थित फिस्टेल होटेलबाट बिहान ८ बजेदेखि सुरु हुने मोटरसाइकल र्‍यालीमा सयौँ समर्थक सहभागी हुने तयारी छ।

पोखरा पुगेको जोन्टीसहितको टिमलाई प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। आगामी तीन वर्षका लागि सम्झौता गरेको पोखरा एभेन्जर्सका टिम मेन्टर जोन्टी दक्षिण अफ्रिकी दायाँहाते ब्याट्स म्यान हुन्।

दिउँसो काठमाडौं फर्किएर टिमका खेलाडीलाई कोचिङ दिने र जर्सी सार्वजनिक गर्ने कार्यक्रम छ। पूर्व-दक्षिण अफ्रिकी क्रिकेटर रोड्सले यसअघि मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्ससँग काम गरिसकेका छन्। उनले दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र २४५ एकदिवसीय खेलमा प्रतिनिधित्व गरेका छन्।

नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभन्जर्समा चार विदेशी खेलाडी इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका एन्डर्सन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डी लिडे अनुबन्ध भइसकेका छन्। त्यस्तै, टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलीप नाथ, तृतराज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भइसकेका छन्। त्यस्तै, आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजीवकुमारलाई पोखराले मुख्य प्रशिक्षकका रूपमा अनुबन्ध गरिसकेको छ। 

एनपिएपल आगामी १५ मंसिरदेखि पुस ६ सम्म आयोजना हुँदै छ।