पोखरा महानगरपालिका– ९, नयाँबजारस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना र ठगी गरेको आरोप लागी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष कास्कीको माछापुच्छ्रे गाउँपालिका–३, घाचोक लम्सालथर स्थायी घर भई पोखरा– ५, पस्याङ बस्ने ३४ वर्षीय विजय लम्साल रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।
कार्यालयबाट खटिएको प्रहरी टोलीले लम्साललाई पोखरा– २, अर्चलबोटस्थित आफन्तको घरबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई कसुर अभियोगबमोजिम सजायको लागि जिल्ला अदालतमा पेस गरिने ओलियाले जानकारी दिए।
सहकारी ठगीको आरोप लागेका र हाल फरार रहेकाहरूको खोजीका लागि प्रहरीले सूक्ष्म ढंगले काम गरिरहेको र सोही क्रममा लम्साललाई पक्राउ गरिएको उनले जानकारी दिए।
रकम ठगीको आरोप लागेका ३३ मध्ये २० जना अझै फरार
सहकारी ठगीमा संलग्न भएको आरोप लागेका ३३ जनामध्ये १३ जना पक्राउ परेका छन् भने अन्य २० जना अझै फरार छन्। कास्की प्रहरीले सहकारीमा ३१ करोड ७८ लाख रकम हिनामिना भएको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा ८ पुस ०८० मा पेस गरेको थियो।
प्रहरीले सहकारीमा भएको ठगीको अनुसन्धानसँगै बचतकर्ताले दिएको उजुरीका आधारमा सो रकमबराबरको बिगोदाबी गर्दै प्रतिवेदन तयार गरी पेस गरेको थियो। त्यसअघि ६ पुस ०८० सम्म गरी ७१४ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए। ती जाहेरीमा उल्लेख भएकाे रकम जोड्दा २० करोड ५० लाख ८२ हजार १९ रुपैयाँ ३२ पैसा पुगेको थियो।
सहकारीमा कुल बचतकर्ताको संख्या तीन हजार ४४६ जना रहेकोमा प्रहरीमा परेको जाहेरीसँगै प्रतिवेदन, अन्य ठगी भएको रकम र उजुरी दिन नआएका बचतकर्तासमेतको रकम हिसाबसँगै आवश्यक अन्य अध्ययनपछि ३१ करोड ७८ लाख ठगी भएको निष्कर्षसहित प्रतिवेदन तयार गरेर प्रहरीले सरकारी वकिलको कार्यालय हुँदै कास्की जिल्ला अदालतमा बुझाएको थियो।