राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपतिमा ऐतिहासिक जितको लागि डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। सामाजिक संजाल एक्समार्फत बधाई दिँदै राष्ट्रपति पौडेलले ट्रम्पको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
‘अमेरिकाका राष्ट्रपतिमा ऐतिहासिक जितको लागि डोनाल्ड ट्रम्पलाई न्यानो बधाई। संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि तपाईंलाई सफलताको शुभकामना। तपाईंको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा म विश्वस्त छु,’ एक्समा पौडेलले लेखेका छन्।
आधिकारिक घोषणा नभए पनि ट्रम्पले जित सुनिश्चित गर्न आवश्यक २७० को लक्ष्य पार गरिसकेका छन्। समाचार तयार पार्दासम्म उनले २७७ इलेक्टोरल कलेज प्राप्त गरिसकेका छन्। रुझानले उनको पक्षमा ३१२ मत पुग्ने देखाइरहेको छ।