१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १५ बिहीबार
  • Thursday, 31 October, 2024
२o८१ कार्तिक १५ बिहीबार १६:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाममा भेटियो भुतेनी झरना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १५ बिहीबार १६:३o:oo

अछाम जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित ढकारी गाउँपालिकाको दाउनामोरामा भुतेनी झरना वर्षौदेखि आफ्नो सौन्दर्यता शालिनतापूर्वक प्रदर्शन गरिरहेको छ । तर यो झरनाबारे अहिलेसम्म कसैलाई जानकारी छैन। ढकारी गाउँपालिकाको वडा नम्बर ३ र ४ स्थित मध्य भागको खोचमा मण्डपमा सजाइएकी दुलहीझै मुस्कुराउँदै झरीरहेको भुतेनी झरना करिब दुईसय मिटरको उचाइमा देखिन्छ । जसको अध्ययनका लागि गाउँपालिकाले बिस्तृत रुपमा योजना निर्माण गर्ने तयारी गरिरहेको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले बताए । ‘यो झरना खोचमा लुकेको रहेछ,’उनले भने,‘यहाँ छ भन्ने भर्खरै पत्ता लाग्यो।अब हामी तत्कालै यसको व्यवस्थापनमा लाग्छौँ।’ 

झरनाको विकासका लागि कार्यपालिकाबाट आवश्यक बजेट छुट्याएर डीपीआर तयार गरिने उनले बताए । यसको प्रचारप्रसारमा समेत विशेष जोड दिइने अध्यक्ष साउदको भनाइ छ । झरना भेटिएपछि पहिलोपटक गाउँपालिकाले स्थलगत अवलोकन गरेर यसबारे स्थानीयसँग सोधपुछ गरेको छ । स्थानीयका अनुसार त्यहाँ भुतेनी झरनासँगै ठुलो चट्टानको बिचमा पोखरी, अचम्म ढंगले सानो ढुंगामाथि अडिएको बिसाल ठुलो पत्थर र वन मान्छेको बस्ने ओडार पनि छ । 

स्थानीय अगुवा प्रेमबहादुर साउदका अनुसार यी सबै कुराको प्रचार गर्न सके गाउँ प्रवेशको मुल ढोकामै रहेको झरनाको विकास हुने छ । भुतेनी झरनाको सिरानमा दाउनामोरा आउजाउ गर्ने मुख्य बाटो छ । जहाँबाट भर्खरै सडकको ट्रयाक खोलिएको छ । त्यही बाटो छेउछाउ रातको समयमा घोडा, चिल र मान्छे आकारको लटाधारी जिवजन्तु देखिने गरेका कारण यो झरनालाई भुतेनी झरना भन्ने गरिएको स्थानीय बलबहादुर साउदले बताए ।

अघिल्लो पुस्ताले भुतेनी छडा (झरना) नाम दिएपनि यो ठाउँ भगवानको बासस्थान हुनसक्ने जनविस्वास रहेको उनको भनाइ छ । यो झरनादेखि माथिबाट बगेर आउने लामो खोला छैन । झरनाको सिरानदेखि करिब २/३ सय मिटरको दुरीमा पानीको सानो मुहान छ । तर झरनासम्म पुग्दा त्यो पानी बढेर अचम्म ढंगले ठुलो देखिन्छ । वडा नम्बर ४ का वडाध्यक्ष पहलवान थापाका अनुसार यसलाई व्यवस्थापन गर्न सके अझै भुतेनी झरनालाई ठुलो आकार दिन सकिने छ ।

भुतेनी झरनादेखि करिब तीनसय मिटर तल ठुलो तलाउ छ भने झरनादेखि १५ सय मिटर हाराहारीको दूरीमा खोल्सामाथि ढुंगाले बनेको पुल छ । जुन पुललाई भुतले आफ्नो विवाहमा निर्माण गरेको भन्ने स्थानीय बुढापाकाहरुको बुझाइ छ। यो सँगै दाउनामोरा गाउँदेखि डेढ घण्टाको दूरीमा रहेको स्याङ्ला वनमा वन मान्छे बस्ने गरेको ठुलो ओडार पनि छ । झरनासँगै यी सबै कुराको अध्ययनका लागि गाउँपालिकाले विशेष योजना निर्माण गर्ने तयारी गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नविन रिमालले बताए । त्यसका लागि मंसिर पहिलो सातादेखि नै काम थालिने उनले बताए ।